बागमतीका ४५ पालिका विपत् जोखिमयुक्त घोषणा, प्रदेश सरकारले पाँच करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण
बागमतीका ४५ पालिका विपत् जोखिमयुक्त घोषणा, प्रदेश सरकारले पाँच करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने। तस्बिर : नयाँ पत्रिका ।

गत ११ र १२ असोजको अविरल वर्षाले सबैभन्दा बढी क्षति पुर्याएका ४५ वटा स्थानीय तहलाई बागमती प्रदेश सरकारले विपत् जोखिमयुक्त पालिकाको रूपमा घोषणा गर्दै आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ती पालिकाहरूलाई पाँच करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। 

प्रदेश सरकारका प्रवक्ता रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपतको जोखिम रहेका पालिकाहरूलाई जोखिम र क्षतिको आधारमा तीनवटा वर्गमा विभाजन गरी आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। 

उनले मन्त्रिपरिषद् बैठकले सातवटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेको बताए।

प्रदेश विपत् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा पठाइने रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपतको क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको मन्त्री लामिछानेको भनाइ छ।

मन्त्री लामिछानेका अनुसार काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई बढी जोखिमयुक्त पहिलो वर्गको पालिकाको रूपमा घोषणा गरिएको छ। ती पालिकालाई २० लाखका दरले एक करोड ४० लाख रुपैयाँ दिने निर्णय भएको छ।

यस्तै, दोस्रो वर्गमा काठमाडौंको चन्द्रागिरि र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकालाई  १५ लाखका दरले एक करोड ८० लाख रुपैयाँ रकम निकासा गरिने भएको छ।

यसैगरी, तेस्रो वर्गमा दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिबेँसी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखु-तामाकोशी र उमाकुण्ड गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिका गरी २६ वटा गाउँपालिकालाई १०-१० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ निकासा गरिने भएको छ।

सुझावित समाचार