लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दसैँलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकामा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले मर्स्याङ्दी गाउँपालिकाले दसैँलाई लक्षित गरी हाटबजार सञ्चालन गरेको हो ।
‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ गाउँपालिकामै पहिलोपटक कृषि तथा पशु हाटबजार सुरु भएको हो । स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजारीकरणसँगै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले पालिकामा पहिलोपटक हाटबजार मेला सञ्चालन गरिएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
पालिकामा पहिलोपटक सञ्चालन भएको हाटबजारमा आफूले उत्पादन गरेका वस्तुहरू बिक्री गर्न पाउँदा किसानहरू हर्षित भएका छन् । उत्पादित वस्तुको बजार सुनिश्चित गर्दै हाटबजार व्यवस्थित भएमा कृषकहरूलाई उत्पादन वृद्धि गर्न थप प्रोत्साहन मिल्ने कृषि तथा पशु हाटबजार सञ्चालन समिति अध्यक्ष भीष्मकान्त कुइँकेलले बताए ।
मर्स्याङ्दीमा सञ्चालित कृषि तथा पशु हाटबजारले कृषकहरूलाई उत्पादनमा प्रोत्साहन भएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए । गाउँपालिकाले हाटबजारमा बिक्री हुने वस्तुहरूको मूल्य यसअघि नै निर्धारण गरेको थियो । न्यूनतम समर्थन मूल्य निर्धारण समितिले हाटबजारमा किसानहरूले बिक्रीमा ल्याउने कृषि तथा पशुजन्य वस्तुहरू, हस्तकलाका सामग्रीलगायत स्थानीय अन्य उत्पादनहरूको बिक्रीमूल्य कायम गरी कृषकहरूलाई आफ्ना उत्पादन बिक्री गर्ने व्यवस्था मिलाएको छ।
हाटबजारमा कृषकहरूले स्थानीय उत्पादन तरकारी, फलफूल, काँक्रो, कागती, निबुवा, चिया, टिमुर, खसी, बोका, मह, भिरमह, कागुनुको चामल, बिरम्फुल, एक्ले, जेठोबुढोलगायतका चामल, खसी, बोका, कुखुरा, भेँडालगायतका उत्पादनको बिक्री भइरहेकाे छ । कतिपय कृषकहरूले उपभोक्तालाई घरमा नै लगेर खसी–बोका बिक्रीसमेत गरेका छन् । यसैगरी रैथाने परिकारअन्तर्गत कोदोको म:म र कागुनोको खिरको बिक्री भएको छ ।
हाटबजारले स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्नुका साथै किसानहरूलाई व्यावसायिक उत्पादनमा जोडिन सहयोग गर्ने, उत्पादक र उपभोक्तालाई सहज हुने र कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ । बिहीबारदेखि सुरु भएको दसैँलक्षित हाटबजार आगामी शनिबारसम्म सञ्चालन हुनेछ ।