काठमाडौंको बाढीको समस्यालाई जलवायु परिवर्तनबाट उत्पन्न वातावरणीय क्षति र भूमि प्रयोगको गलत अभ्यासले थप जटिल बनाएको छ
काठमाडौं उपत्यका, नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र भएकाले यहाँ तीव्र सहरीकरण भइरहेको छ । नेपालमा सहरीकरणको दर ६.६ प्रतिशत छ, जुन एसियाकै उच्च दर हो । एडिनबरा रिसर्च आर्काइव २०२० का अनुसार काठमाडौं उपत्यकामा सहरीकरण, प्रतिवर्ष ६.५ प्रतिशतका दरले बढिरहेको छ, जुन यस क्षेत्रकै सबैभन्दा द्रुत गतिमा बढिरहेको महानगरीय क्षेत्र हो । यस्तो विकासले केही आर्थिक अवसर ल्याए पनि यसले उपत्यकालाई प्राकृतिक प्रकोप, विशेषगरी बाढीको बढ्दो जोखिममा पारेको छ । पछिल्ला वर्षमा पनि भारी मनसुनले बारम्बार विनाशकारी बाढी निम्त्याएको सर्वविदितै छ । जसबाट जनधनको क्षति, पूर्वाधारको विनाश र सयौँ बासिन्दा बर्सेनि विस्थापित हुनुपरेको छ । पछिल्लो बाढीले कैयौँको ज्यान लिएको, सयौँलाई घरबारविहीन बनाएको तथा सडक, पुल र अन्य सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएको देखियो । काठमाडौंको भूआकृति र पुरानो पूर्वाधारले यो समस्यालाई अझ जटिल बनाएको छ, जसले उपत्यकाको सहरीकरण योजनामा पूर्ण परिवर्तनको खाँचो औँल्याएको छ ।
काठमाडौं उपत्यकामा बाढीको जोखिम बढाउने विभिन्न कारक छन् । उपत्यकाको कचौराजस्तो भूआकृतिले भारी वर्षामा भारी मात्रामा पानी जम्मा हुन्छ । केही दशकअघिसम्म वरिपरिका पहाड, घना वन र कृषियोग्य जमिनले ढाकिएको थियो, जसले वर्षाको पानीलाई अवशोषण गरेर पानीको बहाव कम गथ्र्यो । तर, अनियन्त्रित वनविनाश र सहरी विस्तारले जमिनको पानी सोस्ने क्षमता घटाएको छ, जसले गर्दा अत्यधिक वर्षाको पानी सीधै सहरतर्फ बग्न थालेको छ । त्यसमाथि, उपत्यकाभित्र बग्ने बागमती नदी र यसका सहायक नदीहरू, अवैध बसोवासले साँघुरा हुँदा प्राकृतिक जलमार्ग संकुचित भएका छन् । उपत्यकाबाट बाहिर जाने पानीको एक मात्र प्राकृतिक मार्ग चोभार गल्छी निकै साँघुरो छ । यी समस्यालाई अझ गम्भीर बनाउने अर्को प्रमुख कारण भनेको काठमाडौं उपत्यकाको पुरानो र बिग्रिएको ढल प्रणाली हो, जुन अत्यधिक वर्षाको समयमा पानीको व्यवस्थापन गर्न असमर्थ छ । दशकौँअघि सानो जनसंख्या र कम सहरीकरणका लागि निर्मित यो ढल प्रणालीले अहिलेको पानीको अत्यधिक बहावलाई थेग्न सक्दैन । परिणामतः कमजोर योजना र असंयोजित सहरी विकासले बाढीको जोखिमलाई थप बढाएको छ ।
जलवायु परिवर्तनका कारण उपत्यकाले बारम्बार र तीव्र वर्षाको सामना गर्नुपरेको छ, जसले गर्दा बाढीको जोखिम अझ बढेको छ । उपत्यकामा बाढीको समस्या समाधान गर्न तत्काल समग्र बाढी व्यवस्थापन रणनीति आवश्यक छ । यसका लागि इन्जिनियरिङ हस्तक्षेप, जलवायुसम्बन्धी समाधान, प्राविधिक नवप्रवर्तन, सामाजिक र राजनीतिक दृष्टिकोणमा आधारित उपाय अवलम्बन गर्न आवश्यक छ ।
मौजुदा परिस्थितिमा छरितो र प्रभावकारी उपायका रूपमा इन्जिनियरिङ हस्तक्षेप जरुरी छ । जसका लागि काठमाडौंको पुरानो ढल प्रणाली र चोभार गल्छीमा बागमतीको साँघुरो निकासलाई तत्काल सम्बोधन गर्नुपर्छ । काठमाडौंको पुरानो ढल प्रणाली, जुन दशकौँअघि निर्माण गरिएको हो, अहिलेको ठुलो जनसंख्या र अत्यधिक वर्षाका लागि पर्याप्त छैन । मौजुदा ढल प्रणालीलाई सुधार्न ढल प्रणालीको क्षमता विस्तार गर्नुपर्छ । मौजुदा साँघुरा पाइपलाई ठुला र अधिक सक्षम पाइपले प्रतिस्थापन गर्नुपर्छ, जसले धेरै पानीको बहावलाई व्यवस्थापन गर्न सकोस् । घनीभूत जनसंख्या भएका क्षेत्रमा थप ढल निर्माण आवश्यक छ । यस्तो गर्दा वर्षाको पानीलाई फोहोर पानीको ढलबाट छुट्याउन आवश्यक छ । अहिले वर्षाको पानी र ढल एउटै पाइपमार्फत बगाउँदा भारी वर्षाको समयमा ओभरफ्लो हुने समस्या देखिन्छ । यसले सार्वजनिक स्वास्थ्य जोखिम पनि बढ्छ ।
यसबाहेक, सस्टेनेबल अर्बन ड्रेनेज सिस्टम (एसयुडिएस), जस्तै– पर्मियबल फुटपाथ, रेन गार्डेन, हरित छाना र रिटेन्सन बेसिनजस्ता समाधानले सतहमा बग्ने पानीलाई धेरै कम गर्न सक्छ । एसयुडिएसले अत्यधिक पानीलाई अवशोषण गर्न मद्दत गर्छ, जसबाट मुख्य ढल प्रणालीमा दबाब कम भई फ्ल्यास बाढीको जोखिम घटाउँछ । उदाहरणका लागि, हरित छानाले ८० प्रतिशतसम्म वर्षाको पानी अवशोषण गर्न सक्छन्, यसका लागि छानामाथि बगैँचा, तरकारी बारी वा अन्य बोटबिरुवा लगाउन सकिन्छ ।
चोभार गल्छी उपत्यकाबाट बाहिर जाने पानीको एक मात्र प्राकृतिक मार्ग हो । तर, यो साँघुरो र संकुचित भएकाले भारी वर्षाको समयमा पानीको सहज तथा निर्बाध प्रवाह हुन सक्दैन । उपत्यकाभित्रको पानीको बहाव चोभार गल्छीको क्षमताभन्दा धेरै छ भने बाढीको स्थिति सिर्जना हुन्छ । २०२० मा गरिएको हाइड्रोलोजिकल सर्वेक्षणअनुसार, चोभार गल्छीले मनसुनको समयमा पानीको ४० प्रतिशत मात्र व्यवस्थापन गर्न सक्छ, जसले गर्दा माथिल्लो भागमा पानी जम्मा भई डुबानको जोखिम बढ्छ । तसर्थ गल्छीको चौडाइ विस्तार र गहिराइ बढाएर बाढीको पानीको बहावलाई छिटो उपत्यकाबाट बाहिर निकाल्न सक्नुपर्छ । त्यस्तै अतिरिक्त पानीलाई अन्यत्र लैजान बागमती नदी र यसका सहायक नदीबाट फ्लड डाइभर्सन टनेल निर्माण गर्न सकिन्छ । प्राकृतिक जलमार्गमा पर्ने दबाब कम गर्न यसरी यी टनेल भारी वर्षाको समयमा प्रयोगमा ल्याएर पोखरीमा पानी भण्डारण गर्न सकिन्छ ।
साथै माथिल्लो जलाशयमा गेट निर्माण गरी नियन्त्रित पानी बहाव प्रणाली लागू गर्न सकिन्छ । जसले चोभार गल्छीमा नियमित र सन्तुलित पानीको निकास सुनिश्चित गरेर आकस्मिक बाढीको जोखिम कम गर्न मद्दत पुर्याउँछ ।
काठमाडाैँ उपत्यकामा बाढी व्यवस्थापनको कुरा गरिरहँदा जलवायु परिवर्तनले उत्पन्न समस्यालाई नजरअन्दाज गर्न सकिँदैन, किनभने काठमाडौंको बाढीको समस्या वातावरणीय क्षति र भूमि प्रयोगको गलत अभ्यासले थप जटिल बनाएको हो । उदाहरणका लागि वन अनुसन्धान विभागका अनुसार काठमाडौं उपत्यकाले १९८० देखि २०१० सम्म ४० प्रतिशतभन्दा बढी वनक्षेत्र गुमाएको छ । तसर्थ, वातावरणीय पुनस्र्थापनाका कार्यक्रम चरणबद्ध रूपमा लागू गर्न अवश्यक छ । जसका लागि दिगो सहरी योजनाअन्तर्गत हरित भवन कोड (ऊर्जा दक्षता, हरित छाना र वर्षाको पानी संकलनलाई प्रवद्र्धन गर्ने भवन नियम) कडाइसाथ कार्यान्वयन गरिनुपर्छ । सहरभित्र र बाहिरका भागमा पार्क, हरित पेटी र सामुदायिक बगैँचा विकास गरेर हरियाली बढाउन, हावाको गुणस्तर सुधार्न र सहरी तापमान घटाउन आवश्यक छ । जसले वर्षाको पानीलाई अवशोषण गरी पानीको बहाव पनि कम गर्न सहयोग गर्छ ।
उपत्यकावरिपरिको खाली ठाउँ र नांगा डाँडापाखामा ठुलो मात्रामा वृक्षरोपण र संरक्षण अभियान चलाउन आवश्यक छ । जसले उपत्यकाको प्राकृतिक क्षमतालाई पुनस्र्थापित गर्नेछ । जस्तै, उत्तिस, चिलाउने, पीपलजस्ता तुलनात्मक रूपमा छिटो बढ्ने प्रजातिका बिरुवा रोपेर माटोको स्थिरता सुधार गर्न, भूक्षय रोक्न र वर्षाको पानी अवशोषण क्षमता बढाउन सकिन्छ । कृषि वन प्रणालीबाट माटोको स्थिरता बढाउन, पानीको बहावलाई घटाउन र ग्रामीण समुदायका लागि दिगो आजीविका सिर्जना गर्न मद्दत पुग्छ ।
यस्तै दूरगामी योजनाअन्तर्गत वरिपरिका पहाडको फेदीमा वर्षाको पानी संकलन गर्न नहर निर्माण गरी बाढी नियन्त्रण गर्न सकिन्छ । यी नहर बाढीको जोखिम घटाउन, जमिनमुनिको जलस्तर बढाउन र इको–टुरिजमका लागि आकर्षक स्रोत बन्न सक्छन् । दिगो पर्यटन र जल व्यवस्थापनको संयोजनले काठमाडौं उपत्यकामा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सकिन्छ । प्राविधिक समाधानका उपाय अवलम्बन गर्दै बाढीसँग जुध्ने क्षमता विकसित गर्दै जानुपर्छ । प्रविधिको प्रयोगबाट उपत्यकाको ढल प्रणाली सुधार गर्नु, जलवायुसम्बन्धी भविष्यवाणीलाई सटिक बनाउनु र आपत्कालीन सेवाको प्रतिक्रिया क्षमता बढाउन महत्वपूर्ण हुनेछ ।
स्मार्ट ड्रेनेज टेक्नोलोजीले काठमाडौंको पानी व्यवस्थापनमा क्रान्ति ल्याउन सक्छ । वास्तविक समयमा पानीको स्तर निगरानी गर्ने सेन्सर स्थापना गरेर सम्बन्धित निकायले बाढी आउनुअघि सम्भावित अवरोध वा ओभरफ्लो पत्ता लगाउन सक्छन् । यी प्रणालीले पानीको प्रवाहमा वास्तविक–समय तथ्यांक प्रदान गर्छ । जसले सम्बन्धित निकायलाई अवस्था गम्भीर हुनुअघि निवारक कार्यहरूका लागि पर्याप्त समय दिन्छ । जस्तै– नालीहरू खाली गर्ने हो वा पानीलाई पुनः निर्देशित गर्ने, समयमै उचित निर्णय लिन सकिन्छ । त्यस्तै, वास्तविक–समय मौसमको तथ्यांक, नदीस्तर अनुगमन र उपग्रह इमेजरी प्रयोग गर्ने उन्नत पूर्वचेतावनी प्रणालीले काठमाडौंका बासिन्दालाई सम्भावित बाढीका लागि पूर्वतयारीको मौका दिन सक्छ । मोबाइल एप्स, एसएमएस सेवा र सार्वजनिक प्रसारणमार्फत समयमै अलर्ट जारी गरेर सम्बन्धित निकायले बाढीका घटनामा बासिन्दालाई आफ्ना घर खाली गर्न वा सुरक्षित गर्न पर्याप्त समय सुनिश्चित गर्न सक्छन् ।
बाढीको समस्या समाधान गर्न नीतिगत समन्वय पनि उत्तिकै महत्वपूर्ण छ । सहरको योजनाबद्ध विकासलाई सुनिश्चित गर्न दीर्घकालीन र दिगो सहरी विकास योजना आवश्यक हुन्छ । यसका लागि सुरक्षित आवास क्षेत्र पहिचान र विकास गर्दै जोखिमपूर्ण स्थानमा बसोवास रोक्न र सुरक्षित स्थानमा मात्र आवास विकासको व्यवस्था मिलाउनुपर्ने हुन्छ । उपत्यकाभित्र दिगो सहरी विकास गर्दै सम्पूर्ण बस्ती र जग्गाको नक्सांकन गरी बाढीको जोखिमका हिसाबले जोखिमपूर्ण, मध्यम जोखिम र जोखिमरहित गरी तीन वर्गमा विभाजित गरी क्रमशः रातो, पहेँलो र हरियो रङले चिह्नित गरी सार्वजनिक हितका लागि सर्वत्र उपलब्ध गराउनुपर्छ । साथै बाढी जोखिम र जलवायु परिवर्तनको अन्तरसम्बन्ध र प्रभावबारे जनचेतना फैलाउन र जनसमुदायलाई सक्रिय रूपमा सहभागी गराउन आवश्यक छ । यी सबै कार्यका लागि ठुलो रकम आवश्यक पर्ने हुँदा सकभर रकमको जोहो आन्तरिक स्रोतबाटै गर्नु श्रेयष्कर हुन्छ, तर रकमको जोहो बाह्य स्रोतबाट गर्नुपरेमा ग्रिन क्लाइमेट फन्ड, प्रकोप जोखिम न्यूनीकरण कोष, प्राविधिक सहायता कार्यक्रमलगायतबाट लाभ लिन सकिन्छ ।
काठमाडौं उपत्यकामा बाढीको प्रकोप बढ्नुको प्रमुख कारण अनियन्त्रित सहरीकरण, वातावरणीय विनाश र पुरानो पूर्वाधार तथा चोभार गल्छीमा बागमतीको निकास अत्यन्त साँघुरो हुनु नै हो । तर, समग्रमा समुचित इन्जिनियरिङ विधि, जलवायुजन्य जोखिमप्रति संवेदनशीलता, प्राविधिक, सामाजिक र नीतिगत उपायलाई कार्यान्वयन गरेर काठमाडौं उपत्यकाले बाढीको जोखिमलाई कम गर्न र जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सक्छ । दिगो सहरी विकास र जलवायु अनुकूलनमा आधारित यी उपायले काठमाडौं उपत्यकालाई सुरक्षित, प्रतिरोधक र बस्नयोग्य बनाउन मार्गदर्शन गर्न सक्छ ।
(त्रिपाठी वन विभागका पूर्वमहानिर्देशक हुन्)