दशरथ रंगशालामा आजदेखि एसिया रग्बी सेभेन्स

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

नेपाल रग्बी संघको आयोजनामा दशरथ रंगशालामा शुक्रबारदेखि एसिया रग्बी सेभेन्स ट्रफी, २०२४ हुँदै छ । एसियाका १६ राष्ट्रको सहभागिता रहने रग्बी प्रतियोगिताको सबै तयारी पूरा भएको संघका अध्यक्ष दीपक देवकोटाले बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पुरुषमा १४ र महिलामा सात टोलीको सहभागिता रहनेछ । 

इरानले आन्तरिक कारण देखाउँदै अन्तिम समयमा नाम फिर्ता लिएको संघका महासचिव गोविन्द घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए । पुरुषमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । आयोजक नेपाल रहेको समूह ‘बी’मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’मा फिलिपिन्स, पाकिस्तान र जोर्डन छन् । 

यसैगरी, समूह ‘सी’मा काजकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका रहेको आयोजकले जनाएको छ । समूह ‘डी’मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन् । महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान रहेका छन् । समूह ‘बी’मा भारत र इन्डोनेसिया छन् । 

प्रतियोगितामा सहभागी हुन सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए । नेपालले प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैको समूह चरणका सबै खेल खेल्नेछ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो । काठमाडौंमा दुई दिनसम्म चल्ने एसियन रग्बी सेभेन्स सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् ।

५६ दिनको क्लोज क्याम्प
प्रतियोगिताको तयारीका रूपमा नेपाली टोली ५६ दिनको क्लोज क्याम्पमा बसेको थियो । चार महिनाको तयारीपछि नेपालको लक्ष्य पाँचौँ हुने रहेको अध्यक्ष देवकोटाले बताए । ‘हामीहरूको तयारी राम्रो भएको छ, नेपालले कम्तीमा पाँचौँ स्थानको लक्ष्य राखेको छ,’ उनले भने । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुनेछन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट दुई करोड १० लाख रुपैयाँ रहेको छ । प्रतिस्पर्धा सात मिनेटको हुनेछ ।

सुझावित समाचार