इजरायलले आफ्नो दीर्घकालीन सुरक्षा गाजा, वेस्ट बैंक र पूर्वी जेरुसलेमका लाखौँ प्यालेस्टाइनीसँगको मेलमिलापमा निर्भर छ भन्ने नबुझ्दासम्म स्थायी शान्ति हुनेछैन
हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिने गरी भएको हवाई आक्रमणपछि इजरायलीमाझ खुसियाली छाएको छ । इरान समर्थित लडाकु समूह हिजबुल्लाहसँगको द्वन्द्वमा नाटकीय वृद्धिले इजरायल र संयुक्त राज्य अमेरिका दुवैलाई महँगो अन्तहीन युद्धमा फसिने गम्भीर खतरा उत्पन्न भएको छ, जसले न इजरायल, न त मध्यपूर्वमा नै स्थिरता र शान्ति ल्याउनेछ । हालैका महिनामा हिजबुल्लाहले शृंखलाबद्ध रूपमा गम्भीर क्षति व्यहोरेकोमा कुनै शंका छैन । इजरायलले हिजबुल्लाहका सदस्यमाथि योजनाबद्ध रूपमा वाकिटकी तथा पेजर हमला गर्नुका अलवा नसरल्लाहसहित कम्तीमा चार शीर्ष कमान्डरलाई मारेको छ । तर, इजरायललाई खतरा नहुने गरी हिजबुल्लाहलाई समाप्त पार्नु सैन्य माध्यमबाट मात्र सम्भव छैन । देशको उत्तर क्षेत्रमा आफ्नो घरबाट विस्थापित ६० हजार इजरायलीको सुरक्षित फिर्ती सुनिश्चित गर्ने बेन्जामिन नेतन्याहुको घोषित लक्ष्य पनि पूरा हुँदैन, बरु यो बाटोले हिजबुल्लाहका लाखौँ समर्थकको संकल्पलाई थप दृढ बनाउन सक्छ ।
नसरल्लाहको हत्याले हिजबुल्लाहको विनाश चाहनेहरूलाई सन्तोष त महसुस गराएको छ, तर उनको मृत्युले यो समूहलाई लामो समयसम्म पक्षघात गराउने सम्भावना भने छैन । इजरायलले सन् १९९२ मा नसरल्लाहका पूर्ववर्ती अब्बास अल–मुसावी र सन् २००८ मा वरिष्ठ कमान्डर इमाद मुग्नियेहको पनि हत्या गरेको थियो । तर, हिजबुल्लाह सखाप भएन, बरु शक्तिशाली बन्दै गयो । नसरल्लाहपछिका कमान्डर हासेम सफिददिनले आफ्नो धारणा राखिसकेका छन् र नयाँ प्रमुखको रूपमा उनको आगमन भइसकेको हुन सक्छ ।
इजरायलले हिजबुल्लाहको ‘असाबिया अर्थात् सामाजिक ऐक्यबद्धता’, उसको ‘राजनीतिक इच्छाशक्ति’ र ‘दृढता’लाई बारम्बार कम आँकेको छ । हिजबुल्लाह लेबनानको सामाजिक र राजनीतिक संरचनामा नै संस्थाकृत संगठन हो । यसले स्थापना गरेको कल्याणकारी प्रणालीले लेबनानभर समुदायलाई खाना तथा अन्य सेवा प्रदान गर्ने गर्छ । संसद्मा उसका १३ निर्वाचित सांसद र सुरक्षा बलमा शक्तिशाली सहयोगी छन् । हिजबुल्लाह बलिदान, सहादत र पीडित भएको भावनाले पनि संरक्षित छ, जसले उसलाई क्षतिमा हतोत्साहितीकरणबाट जोगाउँछ । सन् १९८० को दशकको सुरुमा स्थापना भएदेखि नै यो समूहले आफ्ना शीर्ष नेता मात्र होइन, हजारौँ लडाकुहरूको क्षतिलाई समेत सहँदै र थप दृढ बन्दै आएको छ । अमेरिकाले अफगानिस्तान र इराक दुवैबाट ‘प्रतिबद्ध विद्रोह वा प्रतिरोध आन्दोलन’लाई परास्त गर्न लगभग असम्भव हुँदो रहेछ भन्ने बुझेको छ । एक गैरराज्य अर्धसैन्य संगठनको रूपमा हिजबुल्लाहले गुरिल्ला युद्ध जारी राख्न र विस्थापित इजरायलीलाई सुरक्षित रूपमा तिनको घरफिर्ती रोक्न सक्छ ।
यदि इजरायल हमासलाई जस्तै हिजबुल्लाहलाई पनि प्रभावकारी रूपमा कमजोर बनाउन सकिन्छ भन्ने भ्रममा छ भने त्यो गलत हो । हिजबुल्लाहसँग कम्तीमा ५० हजार लडाकु रहेको अनुमान छ । यो समूहलाई सम्हालिन केही समय लाग्न सक्छ, तर उनीहरूको संख्या हमास र इरान समर्थित अन्य मिलिसियाको भन्दा धेरै बढी छ । हिजबुल्लाहसँग दसौँ हजार रकेट र क्षेप्यास्त्र छन्, जसमा गाइडेड ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् । गाजालाई जसरी यसलाई चारैतिरबाट घेराबन्दी गर्न पनि सकिन्न । लेबनानको सिरियासँग खुला सिमाना छ, जसले गर्दा हिजबुल्लाहलाई हतियारहरूको सहज आपूर्ति गरी दीर्घकालीन युद्धका लागि सक्षम बनाउने सुविधा इरानसँग छ । इरान प्रत्यक्ष रूपमा हिजबुल्लाहलाई सहयोग गर्न आएन भने पनि रिभोलुसनरी गाड्र्सले ‘प्रतिरोध धुरी’लाई सक्रिय पारिराख्न सक्छ । सिरिया, इराक र यमनका अनुभवी लडाकुलाई लेबनानमा सहयोगका लागि समन्वय गरिदिन सक्छ ।
फलस्वरूप, हिजबुल्लाह, व्यापक इजरायली हवाई आक्रमणमा समेत टिक्न सक्ने स्थितिमा छ । हिजबुल्लाहविरुद्ध पूर्ण विजय प्राप्त गर्न इजरायलले लेबनानमा जमिनी आक्रमण गर्नुपर्ने हुन्छ, जुन तयारी इजरायली सेनाको देखिन्छ । उसले दक्षिण लेबनानका केही भाग केही समय कब्जामा लिन सक्नेछ । तर, यसले इजरायली सैनिकका साथै लेबनानी नागरिकका लागि पनि विनाशकारी परिणाम निम्त्याउनेछ ।
यसबाट इजरायलको दीर्घकालीन सुरक्षाको कुनै ग्यारेन्टी छैन । सन् १९८२ मा इजरायलले आक्रमण गरी बेरुतसहित लेबनानका केही भाग कब्जा गरेको थियो र १८ वर्ष कब्जा कायम राख्यो, जुन रणनीतिक असफलता साबित भयो । यसैले हिजबुल्लाहलाई जन्म दियो र हजारौँ नागरिकको मृत्युतर्फ डोर्यायो । हिजबुल्लाहको गुरिल्ला युद्धले इजरायललाई सन् २००० मा पछि हट्न बाध्य बनायो । सन् २००६ मा इजरायलले लेबनानमा पुनः सेना पठाउँदा पनि यस्तै भयो, एक सयभन्दा बढी इजरायली हताहत भए । नेतन्याहु र उनको क्याबिनेटले हिजबुल्लाहमाथि जुन ‘पूर्ण विजय’ खोजिरहेको छ, त्यसले इजरायलीले चाहेको र आवश्यक ‘पूर्ण सुरक्षा’ प्रत्याभूत गर्नेछैन ।
लेबनानमाथिको आक्रमणमा इजरायलको दम्भलाई अमेरिकाको फलामे सैन्य एवं कूटनीतिक सहयोग छ । यस सन्दर्भमा अमेरिका इजरायलको साँचो मित्र होइन । इजरायलले आफ्नो दीर्घकालीन सुरक्षा गाजा, वेस्ट बैंक र पूर्वी जेरुसलेमका लाखौँ प्यालेस्टाइनीसँगको मेलमिलापमा निर्भर छ भन्ने नबुझ्दासम्म स्थायी शान्ति साक्षात्कार गर्न पाउनेछैन । इजरायलले यसको राजनीतिक समाधान खोज्नुपर्छ । केही अरब तानाशाहीसँगको सम्बन्धमा सामान्यीकरण मात्रै पर्याप्त हुँदैन । दशकौँ लामो रक्तपातको दुश्चक्र र इरानी प्रभाव वृद्धिको परिस्थिति रोक्ने उपाय प्यालेस्टाइनी भूमिमा इजरायली ‘कब्जा’को अन्त्य र प्यालेस्टिनीलाई स्वनिर्णय प्रदान गर्नु नै हो ।
(गेर्गेस लन्डन स्कुल अफ इकोनोमिक्सका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन्)
न्युयोर्क टाइम्सबाट