समोसामा किरा भेटिएपछि २० हजार जरिवाना

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– ८ को १ नं. सडकस्थित होटेलमा ग्राहकलाई खान दिइएको समोसामा किरा भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

स्थानीय माखनभोग स्विट्स एन्ड नमकिनमा गएका ग्राहकले समोसा खाने क्रममा किरा भेटिएपछि जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै आर्थिक जरिवाना गरिएको हो ।

ग्राहकले गरेको गुनासोका आधारमा मंगलबार दिउँसो तत्काल लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, घरेलु तथा साना उद्योग कार्यालय लहानका कार्यक्रम संयोजक वैद्यनाथ झा, खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराजका राजिन बुढाथोकी र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

‘आफूहरूले अनुगमन गर्दासमेत ग्राहकलाई दिएको समोसामा किरा भेटिएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको हो,’ घरेलुका कार्यक्रम संयोजक झाले भने । 

त्यस्तै, अगुगमन टोलीले लहान ३ अस्पताल चोकनजिक रहेको पेय पदार्थ विक्रेता कृष्णा सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ भेटिएपछि नष्ट गर्न निर्देशन दिइएको लहानका उपप्रमुख महतोले बताए । 

See More On

सुझावित समाचार