बाढीपहिरो प्रभावित क्षेत्रमा संक्रमणको जोखिम

सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

बाढीपहिरो प्रभावित क्षेत्रमा संक्रमणको जोखिम रहेकाले सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । संक्रामक रोग फैलिन नदिन पानी शुद्धीकरणका साथै सरसफाइ र नियन्त्रणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम गरिरहेको र आममानिसले समेत सजगता अपनाउन आवश्यक रहेको जनाएको हो । 

हैजा, झाडापखाला र टाइफाइडजस्ता संक्रमण न्यूनीकरणका लागि खानेपानी मन्त्रालयसँग समन्वय गरेर प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरणको तयारी थालिएको मन्त्रालयले जनाएको छ । पानी शुद्धीकरण गर्न विभिन्न औषधि प्रयोग गर्ने, सचेचनाका लागि महिला स्वंयसेविका र आमा समूह परिचालन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । पानीजन्य संक्रमणबाट बच्न र खानेपानी शुद्धीकरणका लागि फोनको रिङटोनमा समेत सन्देशमूलक सामग्री राख्ने निर्णय भएको उनको भनाइ छ ।

‘बाढीपहिरो प्रभावित क्षेत्रमा पानी, खाना र सरसफाइको अभावमा हैजा, झाडापखाला, टाइफाइड, डेंगु, छालामा समस्या, रुघाखोकी, ज्वरो, दम र श्वासप्रश्वाससम्बन्धी विभिन्न स्वास्थ्य समस्या देखिने जोखिम छ । यी रोग नियन्त्रणका लागि चाहिने आवश्यक सामान जुटाउने र प्रभावित क्षेत्रमा पुर्याउने तयारीमा जुटेका छौँ,’ बुढाथोकीले भने । अति प्रभावित २१ जिल्लामा समेत महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैजसो स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए । 

सुझावित समाचार