पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको यात्रा सहज बनाउँछौँ : प्रजिअ घिमिरे

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

संघीय राजधानी जोड्ने दुई ठुला राजमार्गहरू पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको यात्रा सहज बनाउने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । केही दिनअघि मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा धादिङ आएका प्रजिअ घिमिरेले पत्रकार भेटघाट कार्यक्रममा राजमार्गको यात्रा सहज बनाउने प्रयास भइरहेको बताएका हुन् । 

‘हामी विपतपछि छौँ । केही दिनअघि मात्रै ठुलो विपत्तिको सामना गरेका छाैँ । ठुलो जनधनको क्षति व्यहोरेका छौँ,’ उनले भने, ‘विपतलगायत सडक सुरक्षामा विशेष ध्यान दिनेछौँ । ट्राफिक प्रहरीलगायतको टोली परिचालन गरेर होस् या सडक मर्मत तथा अन्य काम गरेर भए पनि चाडपर्वको समयमा सहज रूपमा यात्रा गर्ने वातावरण बनाउँछौँ ।’ ‘अहिले बिपी राजमार्ग ठप्प छ । धादिङ भएर यात्रा गर्नेहरूको संख्यामा उच्च वृद्धि हुने देखिन्छ । यसलाई मध्यनजर गरी विशेष तरिकाले हामी लाग्नेछौँ । त्यसका लागि सरोकारवाला निकायहरूबिच छलफल तथा सहकार्य भइरहेको छ,’ उनले भने । 

पृथ्वी राजमार्गमा चाडपर्वका समयमा गत वर्ष दैनिक १७ हजारभन्दा बढी सवारी आवतजावत गरेका थिए । यो वर्ष बिपी राजमार्ग अवरुद्ध बनेका कारण २५ हजारभन्दा बढी सवारी गुड्ने अनुमान गरिएको छ। त्यसैले, घण्टौँसम्मको जाम र सास्तीबाट बच्न पूर्वतयारी गरेर जानुपर्ने पत्रकारहरूले सुझाव दिएका छन् । 

राजमार्गमा हुने विपत् तथा दुर्घटनामा उद्धार सामग्री र उद्धार टोली समयमै उपलब्ध हुने गरी व्यवस्थापन गरिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन् । त्यस्तै, राजमार्गमा सञ्चालित होटेल तथा पसलहरूले महँगो शुल्क असुल्ने गरेका छन् । जामको समयमा तेब्बरसम्म मूल्य लिने गरेको भन्दै यस्ता बेतिथिका क्षेत्रमा पनि प्रशासनले ध्यान दिन सुझाव दिएका छन्। पत्रकारहरूले उठाएका सवालहरूमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र विशेष गरी राजमार्गको यात्रा सहज र व्यवस्थित गर्ने प्रजिअ घिमिरेले बताए । 
 

सुझावित समाचार