टी–२० अलराउन्डरमा दीपेन्द्रको छलाङ

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

आइसिसीले सार्वजनिक गरेको अक्टोबरकोे वरीयतामा दीपेन्द्रसिंह ऐरी २३० रेटिङका साथ टी–२० अलराउन्डरको दोस्रो स्थानमा उक्लेका छन्, एकदिवसीय र टी–२० फर्म्याटमा पहिलोपटक नेपाली खेलाडीले दोस्रो स्थान बनाउँदा इंग्ल्यान्डका लिआम लिभिन्स्टोन २५३ रेटिङका साथ शीर्ष स्थानमा छन् 

नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वरीयतामा नेपाली खेलाडी पहिलोपटक दोस्रो स्थानमा पुगेका हुन् । दीपेन्द्रले चार स्थान सुधार गरी रेकर्ड बनाएका हुन् । उनले पहिलोपटक टी–२० अलराउन्डर वरीयताको शीर्ष १० भित्र स्थान बनाए । आइसिसीले अक्टोबरकोे वरीयता सार्वजनिक गर्दा इंग्ल्यान्डका लिआम लिभिन्स्टोन टी–२० वरीयताको शीर्ष स्थानमा छन् । 

लिआम र दीपेन्द्रबिच २३ रेटिङ अंक फरक छ । लिआमले २५३ र दीपेन्द्रले २३० रेटिङ अंक पाएका छन् । किंग्स सिटीमा चलिरहेको टी–२० सिरिजमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कारण आइसिसीले दीपेन्द्रलाई २३० रेटिङ अंक प्रदान गरेको हो । शीर्ष स्थानमा रहेको लिआमले कार्डिफमा अस्ट्रेलियासँगको प्रतिस्पर्धामा २५३ रेटिङ प्राप्त गरेका थिए । दीपेन्द्रले ओमानविरुद्धको खेलमा दुई रन खर्चेर एक विकेट तथा १८ रन जोडेका थिए । सोही सिरिजमा उनले क्यानडासँगको पहिलो खेलमा ६ रन बनाउनुका साथै एक विकेट लिएका थिए । उनले एक विकेट हात पार्न ११ रन खर्चे । 

अघिल्लो वरीयतमा दीपेन्द्र छैटौँ स्थानमा थिए । उनले अलराउन्डरतर्फ मात्र नभएर टी–२० बलिङमा एकैपटक २३ स्थान सुधार गरेका छन् । ताजा वरीयतामा उनी ७०औँ स्थानमा छन् । उनले ओमानविरुद्धको टी–२० खेलमा ४५३ रेटिङ पाएका छन् । टी–२० बलिङमा दीपेन्द्र र सोमपाल कामी मात्र समावेश छन् । सोमपालले एक स्थान गुमाउँदा ९१औँ स्थानमा आफूलाई पाएका छन् । उनले क्यानडासँगको प्रतिस्पर्धामा ४०९ रेटिङ पाए । 

दीपेन्द्रभन्दा पछाडि विश्वका चर्चित अलराउन्डर 
आइसिसी वरीयतामा ऐतिहासिक स्थान प्राप्त गरेका दीपेन्द्रले विश्वका चर्चित क्रिकेटरलाई पछाडि परेका छन् । अस्ट्रेलियाका मार्कोस स्टोनिस तेस्रो र जिम्बावेका सिकंन्दर राजा चौथो स्थानमा छन् । मार्कोस र सिकंन्दरले एक–एक स्थान गुमाए । दीपेन्द्र मार्कोसलाई विस्थापित गरी दोस्रो स्थानमा उक्लेका हुन् । यसैगरी श्रीलंकाका वानिन्दु हसरंगा पाँचौँ र अफगानिस्तानका मोहमद नाबी छैटौँ स्थानमा छन् । भारतका हार्दिक पाण्ड्या १९९ रेटिङका साथ सातौँ स्थानमा छन् । पाकिस्तानका इमाद वासिम एक स्थान सुधार गर्दै आठौँमा रहे । दक्षिण अफ्रिकाका एडेन माक्राम नवौँ र नामिबियाका गेहार्ड इरामुस दशौँ स्थानमा छन् । 

गुल्सनको ११ स्थान सुधार
टी–२० अलराउन्डरमा नेपालका गुल्सन झाले पनि छलाङ मारेका छन् । नयाँ वरीयतामा ११ स्थान सुधार गरेका गुल्सन ५६ स्थानमा पुगेका छन् । उनले किंग्स सिटीमा चलिरहेको टी–२० सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा ६८ रेटिङ अंक प्राप्त गरेका छन् । उनीभन्दा अगाडि इंग्ल्यान्डका साम कुराम छन् । गुल्सनले इंग्ल्यान्डकै क्रिस जोर्डनलाई दुई स्थानले पछि पारेका छन् । पछिल्लो समयमा गुल्सनले एकदिवसीय र टी–२० मा ब्याटिङ र बलिङमा एकनास प्रदर्शन गरिरहेका छन् । 

क्यानडामा चलिरहेको टी–२० सिरिजमा उनको ब्याटबाट रन निस्किरहेको छ । उनले ओमनसँगको खेलमा ४० रन बनाउनुका साथै दुई विकेट लिन १४ रन खर्चेका थिए । यसैगरी, क्यानडासँगको खेलमा उनले २३ रनको इनिङ्स खेले । उनले ओमानविरुद्धको खेलमै ६८ रेटिङ अंक पाएका थिए । टी–२० अलराउन्डरमा कुशल भुर्तेलले ६ स्थान सुधार गरेका छन् । अहिले उनी ६०औँ स्थानमा छन् । यसअघि उनी ६६औँ स्थानमा थिए । उनले ओमानसँगको खेलमा ६१ रेटिङ हात पारेका थिए । 

नेपालका कप्तान रोहितकुमार पौडेल भने यथावत् रहे । नयाँ वरीयतमा उनी ५४औँ स्थानमा छन् । उनले क्यानडासँगको खेलमा ७० रेटिङ पाएका छन् । रोहितले इंग्ल्यान्डका साम कुरानलाई एक स्थानले पछि पारे । अलराउन्डरमा बायाँहाते हिटर कुशल मल्लले ६ स्थान गुमाए । अहिले उनी ४०औँ स्थानमा छन् । उनले ओमानसँगको खेलमा १११ रेटिङ पाए । नेपालका करण केसी ७१औँ स्थानमा छन् । 

टी–२० ब्याटिङ वरीयतामा नेपाली खेलाडी पछाडि
नेपालका क्रिकेटरले टी–२० अलराउन्डरमा सुधार गर्दा ब्याटिङमा पछि परेका छन् । कुशल मल्ल र दीपेन्द्रबाहेक अन्य खेलाडीले स्थान गुमाएका छन् । कुशल वरीयताको सय स्थानमा समावेश भएका छन् । उनले एक स्थान सुधार गरेका हुन् । उनले सन् २०२३ मा हङकङविरुद्ध ४१७ रेटिङ अंक पाएका थिए । एकदिवसीयमा दीपेन्द्रसिंहले भने दुई स्थान सुधार गर्न सफल भएका छन् । 

उनी अहिले ४३औँ स्थानमा उक्लेका छन् । उनले ओमानसँगको प्रतिस्पर्धामा सर्वाधिक ५०८ रेटिङ अंक पाएका छन् । नेपालका कप्तान रोहितले एक स्थान गुमाए । अहिले ६१औँ स्थानमा रहेका उनले सन् २०२३ मा हङकङविरुद्धको खेलमा ४५७ रेटिङ पाएका थिए । आसिफ शेखले दुई स्थान गुमाए । ७० स्थानमा रहेका उनले बंगलादेशविरुद्ध ४३१ रेटिङ पाए । 

एकदिवसीय अलराउन्डरमा सन्दीपले सुधारे स्थान
आइसिसीको एकदिवसीय अलराउन्डरमा लेगस्पिनर सन्दीप लामिछानेले एक स्थान सुधार गरेका छन् । सन्दीप पछिल्लो वरीयताअनुसार ४१औँ स्थानमा छन् । उनले सन् २०२३ मा आयरल्यान्डविरुद्धको खेलमा १५५ रेटिङ पाएका थिए । उनीभन्दा एक स्थान अगाडि दक्षिण अफ्रिकाका कार्गिसो रावडा छन् । सन्दीपबाहेक अन्य नेपाली खेलाडीले स्थान सुधार गर्न सकेनन् । टी–२० अलराउन्डरको दोस्रो स्थानमा रहेका दीपेन्द्र भने एकदिवसीयको अलराउन्डरतर्फ ५०आँै स्थानमा रहेका छन् । उनले दुई स्थान गुमाए । 

यसैगरी, नेपालका कुशल मल्ल एक स्थान गुमाउँदै ५३औँ स्थानमा सीमित भए । नेपालकै सोमपाल कामी ५४ स्थानमा छन् । फास्ट बलर करण केसीले एक स्थान सुधार गरेका छन् । उनी १२१ रेटिङ अंकका साथ ७३औँ स्थानमा छन् । गुल्सन झा ९०औँ स्थानमा रहे । उनले एक स्थान सुधार गरे । यसैगरी एकदिवसीय ब्याटिङमा तीनजना नेपालका खेलाडी समावेश भएका छन् । आसिफ शेख ८२औँ, कुशल भुर्तेल ८३औँ र रोहित ८७औँ स्थानमा छन् । शेखले चार र रोहितले एक स्थान गुमाए । 

एकदिवसीय वरीयतामा नेपालले स्थान गुमायो
आइसिसी विश्वकप लिग २ सिरिजमा केवल ३ अंक मात्र बटुलेको नेपालले नयाँ वरीयतामा एक स्थान गुमाएको छ । क्यानडामा भएको सिरिजमा नेपालले एक अंक मात्र बुटलेको थियो । नेपालले तीन खेल गुमाएको थियो । नेपाल अहिले १७औँ स्थानमा छ । नेपालले २७ रेटिङ अंक पाएको छ । अमेरिकाले एक स्थान सुधार गरेको छ । अमेरिका १६औँ स्थानमा छ । एसोसिएटतर्फ स्कटल्यान्ड ११औँ स्थानमा छ । आइसिसी विश्वकप लिग २ को शीर्ष स्थानमा रहेको क्यानडाले चार स्थान सुधार गरेको छ । क्यानडा अहिले १५औँ स्थानमा उक्लेको छ ।

See More On

सुझावित समाचार