पलेसा र एरिकाको पुरस्कार रकम निकासा गर्ने बागमती सरकारको निर्णय

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धन र १९औँ एसियाली खेलकुद (एसियाड)मा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने एरिका श्रेष्ठलाई प्रदान गर्ने घाेषणा गरेको पुरस्कारबापतको रकम निकासा गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिपद्को बैठकले गत ३ असोजमा पलेसा र एरिकासहित उनीहरूका प्रशिक्षक र तेक्वान्दो र कराँतेका प्रदेशस्तरीय समितिहरूलाई नगद पुरस्कारसहित सम्मान गरेबापतको रकम निकासा गर्ने निर्णय गरेको हो।

प्रदेशको आन्तरिक मामिलामन्त्री एवं प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरणअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई २३ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको जानकारी दिए। 

३ असोजमा खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गरे पनि बजेट अभावका कारण घोषणा गरिएको नगद पुरस्कार दिन नसकेकाले अहिले निकासा गरिएको उनको भनाइ छ।

मन्त्री लामिछानेले नगद पुरस्कारस्वरूप २० लाख रुपैयाँ खर्च भए पनि बाँकी रहेको तीन लाख रुपैयाँ भने प्रदेश सरकारको खेलाडी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा रहने जानकारी दिए।

यसअघि प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कांस्य पदक दिलाएकी पलेसालाई १० लाख रुपैयाँ, पलेसाका प्रशिक्षक कविराज नेगीलाई दुई लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो। 

यस्तै, १९औँ एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई पाँच लाख, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो।

सुझावित समाचार