झन्डै पाँच सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले मंगलबार हेटौँडाबाट झन्डै पाँच सय ग्रामबराबरको अवैध सुनसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेस्थित प्रहरी चेकपोस्ट अगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उक्त सुनको हालको बजार मूल्य ६७ लाख ३४ हजार पाँच सय ४४ रुपैयाँ रहेको छ ।

मकवानपुर प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ठकुरप्रसाद सापकोटाका अनुसार विशेष सूचनाको आधारमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र०३–००१ज ६९६ नम्बरको यात्रुवाहक इभी माइक्रोलाई रोकी जाँच गर्दा माइक्रोमा सवार भारतको बिहार बस्ने ३४ वर्षको सुजित सर्राफको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो।

निज सर्राफको शरीर खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान र एक थान सिक्रीसमेत लुकाई उक्त परिमाणको सुन ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए । उनले निज सर्राफसँग उक्त सुनको बिल बिजक केही नभएकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए । 
 

See More On

सुझावित समाचार