नसरल्लाहले प्यालेस्टाइनका लागि व्यावहारिक समाधान भनेको सबै धार्मिक समुदायको सहअस्तित्वमा आधारित लोकतान्त्रिक राज्य निर्माण हो भनेका थिए
इजरायलले प्यालेस्टिनीविरुद्धको कारबाही समाप्त नगरेसम्म उत्तरी इजरायलमा आक्रमण रोक्न अस्वीकार गरेकामा इजरायलले हेजबुल्लाह नेता सड्ढयद हसन नसरल्लाहको हत्या गरेको छ । स्मरण रहोस्, छोटो समयको युद्धविरामका दौरान हेजबुल्लाहले आफ्नो आक्रमण रोकेको थियो, तर इजरायलले पुनः आक्रमण गरेपछि हेजबुल्लाहले जवाफी हमला गरेको थियो । प्यालेस्टाइनमाथि आफ्नो अटल समर्थनका लागि परिचित नसरल्लाहले पहिले हेजबुल्लाहलाई इजरायलविरुद्ध जित दिलाएका थिए । हेजबुल्लाहले सन् २००० मा लेबनानबाट इजरायली सेनालाई फिर्ता पठाएको र सन् २००६ मा इजरायललाई रोकेको थियो । र, २७ सेप्टेम्बर २०२४ मा हजारौँ लेबनानीसहित उनको पनि हत्या गरियो ।
सन् २०१३ मा सिरियाली युद्ध चर्किंदै गर्दा म एक साथीसँग नसरल्लाहको भाषण सुन्न बेरुतनजिकको दहिह बस्तीमा थिएँ । इजरायली आक्रमणबाट लेबनानको रक्षा गर्ने राजनीतिक दल एवं सैन्य हेजबुल्लाहले सिरियामा प्रवेश गर्ने निर्णय गरेको थियो । इजरायली पक्षबाट हुने हत्याको जोखिमका कारण नसरल्लाह ठुलो स्क्रिनमा मात्र देखापरेका थिए । उनले सिरियाली युद्धको जटिलता र लेबनानको सिमानानजिक अलकायदाको मोर्चा जबात अल–नुस्राको खतराबारे व्याख्या गरे र लेबनानको सिया, इसाई र अन्यलाई जोगाउन हेजबुल्लाहले सिरियामा लड्नुपरेको बताए ।
केही समयपछि हेजबुल्लाह लडाकु जबात अल–नुस्रासँग भिडिरहेको अवलोकन गर्न मैले अर्का पत्रकारसँग कालामोन पर्वतको भ्रमण गरेँ । हेजबुल्लाह लडाकुले नसरल्लाहलाई गहिरो आदर गर्थे र आफूलाई लेबनानको रक्षार्थ खटिएका योद्धाका रूपमा हेर्थे । यी लडाकु नसरल्लाहको आदेशलाई शिरोपर गर्थे । आफ्नो भाषणमा नसरल्लाहले सिरियाको राजधानी दमास्कसनजिकैको पवित्र सिया तीर्थस्थल सड्ढयदा जैनाब मस्जिदको सुरक्षाको महत्वलाई जोड दिएका थिए । त्यसवेला अलकायदा समूहले सिरियामा रहेका सिया जनसंख्या र धार्मिक स्थलमा आक्रमण गरिरहेका थिए । नसरल्लाहको चिन्ता उनका अनुयायीमाझ दृढतापूर्वक प्रतिध्वनित हुन्थ्यो र उनले हेजबुल्लाह सदस्यबिच व्यापक समर्थन हासिल गरेका थिए ।
नसरल्लाहले निरन्तर सहअस्तित्वको महत्वमाथि जोड दिन्थे र साम्प्रदायिक विभाजनलाई अस्वीकार गर्थे । सिरियामा हेजबुल्लाह प्रवेशको उद्देश्य लेबनान र सिरियाका सिया समुदायलाई अल–नुस्राबाट जोगाउनु थियो । लेबनानी राष्ट्रिय शक्ति र इस्लामिक प्रतिरोध समूह दुवैका रूपमा हेजबुल्लाहले व्यापक समर्थन पाएको थियो, विशेषतः सन् २००० मा दक्षिणी लेबनानमा इजरायलको कब्जालाई अन्त्य गर्दा समर्थन बढेको थियो । इरानमा अध्ययन गरेका नसरल्लाह सन् १९९१ मा लेबनान फर्के र अब्बास अल–मुसावीको हत्यापछि सन् १९९२ मा ३२ वर्षको उमेरमा हेजबुल्लाहको नेता बने ।
नसरल्लाह नेतृत्वको हेजबुल्लाहले इजरायली सैन्य अखडालाई मात्र लक्षित गर्ने, तर इजरायलले लेबनानी नागरिकमाथि प्रहार गरे मात्र बदला लिने नीति लागू गरेको थियो । सन् २००० मा इजरायलको फिर्तीपछि हेजबुल्लाहले राष्ट्रलाई तंग्रिन दिन लेबनानी सहयोगीलाई तारो नबनाउने घोषणा गर्यो । सन् २०१२ मा सुरमा मदिरालयमा बम विस्फोट भएपछि हेजबुल्लाह जिम्मेवार नभए पनि क्षतिपूर्ति तिर्न प्रस्ताव गरेका थिए । नसरल्लाहले मदिरा सेवनको विरोध गरे पनि उनी लेबनानी समाजले एउटै समूहको विश्वासमा जोड दिनुको सट्टा फरक सामाजिक विचारप्रति सहिष्णु हुनुपर्नेमा विश्वास गर्थे ।
यहुदीद्वेषको आरोपका बाबजुद नसरल्लाहको हेजबुल्लाहले बेरुतको माघेन अब्राहम सिनागोगको (यहुदी धार्मिक स्थल) पुनर्निर्माणलाई समर्थन गरेको थियो । सन् २०१२ मा नसरल्लाहले जुलियन असान्जलाई प्यालेस्टाइनका लागि एक मात्र व्यवहार्य समाधान भनेको लोकतान्त्रिक राज्य निर्माण हो, जहाँ मुसलमान, यहुदी र इसाई शान्तिपूर्वक बस्न सकून् भनेका थिए । सन् २००६ मा इजरायलको लेबनानमा अमेरिकासमर्थित बमबारीको समयमा हेजबुल्लाहले प्रतिरोध गर्दै प्रत्याक्रमण गर्यो । ह्युगो चाभेजजस्ता नेताको अभाव महसुस गरेका अरब जनताले नसरल्लाहलाई आफ्ना चाभेज वा नयाँ गमाल अब्देल नासेरका रूपमा हेर्न थालेका थिए, किनभने हेजबुल्लाहको लचिलोपनले इजरायलले युद्ध हारेको थियो । नसरल्लाहको सफलता आंशिक रूपमा लेबनानका केही भागमा विशेषतः दक्षिणी गाउँ र बेका उपत्यकामा हेजबुल्लाहलाई ‘प्रतिरोधी समाज’मा रूपान्तरण गर्नु पनि हो । यो समुदाय प्यालेस्टाइनमा इजरायली कब्जा र दक्षिणी लेबनानमा हस्तक्षेपको प्रतिरोध गर्न समर्पित थियो । हेजबुल्लाहको सामथ्र्य यो सामाजिक समर्थनमा निहित छ, न कि यसका क्षेप्यास्त्रमा । धेरै इजरायली हत्या प्रयासका बाबजुद नसरल्लाह बाँचे र आफ्नो कुनै पनि भाषण अन्तिम हुन सक्ने उनको भनाइ हुने गर्थ्यो ।
नसरल्लाहको हत्याले लेबनानलाई स्तब्ध बनाएको छ, किनभने धेरैले उनलाई केही हुँदैन भन्ने विश्वास गर्थे । यद्यपि नसरल्लाह आफैँलाई म कुनै दिन मारिनेछु भन्ने थाहा थियो । रोबर्ट फिस्कसँगको सन् २००१ को अन्तर्वार्तामा उनले सहादतका लागि तयारी गरिरहेको बताएका थिए । उनले सहादतलाई सौना (वाष्प नुहाई) को गर्मीसँग तुलना गर्दै नजिकैको शीतल र आरामदायी कोठाको पर्खाइमा रहेको जनाएका थिए । इजरायली बम खस्दा सम्भवतः उनी यही मानसिकताले डोहोर्याइएका थिए कि ?
इजरायलको निरन्तर बमबारीले लेबनानमा एक हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ र पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । पहिले नै युद्धका लागि तयार समाजले अहिले इजरायल नेतृत्वको क्रूरताको सामना गरिरहेको छ । इजरायलले प्यालेस्टिनीको नरसंहारलाई लेबनान र सम्भावित इरानवरुद्ध फराकिलो युद्धमा परिणत गर्न खोज्दै मध्यपूर्व क्षेत्रलाई अराजकतातर्फ धकेलिरहेको छ ।
नसरल्लाहको शोक सम्मानमा इरानको इमाम रेजा मस्जिद र सिरियाको सड्ढयदा जेनाब मस्जिदमा कालो झन्डा फहराइएको थियो र यो सम्मान अयातोल्लाह खोमेनीलाई पनि नदिइएको दुर्लभ श्रद्धाञ्जली हो । अरब विश्वको आघात अन्ततः कम हुँदै जाँदा हेजबुल्लाह फर्किनेछ, किनभने इजरायलमाथि विजयको दाबी गर्ने एक मात्र अरब नेता सड्ढयद हसन नसरल्लाहलाई प्रतिस्थापन गर्न सजिलो हुनेछैन ।
(प्रसाद इतिहासकार, लेखक एवं पत्रकार हुन्)
पिपुल्स डिस्प्याचबाट