ढोरपाटन नगरका प्रमुख देवकुमार नेपाली कारागार चलान

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
ढोरपाटन नगरका प्रमुख देवकुमार नेपाली कारागार चलान

फाइल तस्बिर ।

१६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा भएको थुनछेक बहसपछि जिल्ला अदालत बागलुङले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरेको थियो।

नेपालीको बयान सोमबार नै सकिएको थियो। मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालका इजालास अधिकृत ऋषिराम रिजालले जानकारी दिए।

भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार बागलुङ ल्याइएको थियो। सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए। 

सहकारीका बचतकर्ताको दुई अर्ब रुपैयाँ बचत रकम हिनामिना गरी ५ जेठ ०८० मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए। यस्तै, उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। 

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङको ५ साउन ०८० को आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

भण्डारी, बुढा र किसान ५ साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर ०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्। नेपाली ढोरपाटन नगरपालिकामा एमालेको तर्फबाट दुईपटकसम्म  नगरप्रमुखको रूपमा निर्वाचित भएका हुन्।

सुझावित समाचार