विपद् व्यवस्थापन समिति नवलपुरले विपद्को पूर्वतयारी नभएको निष्कर्ष निकालेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले पूर्वतयारी नहुँदा उद्धारमा कठिनाइ भएको निष्कर्ष निकालेको हो।
बैठकले बाढीमा फसेकालाई उद्धार गर्न डुंगाको अभाव भएको भन्दै जिल्लाका प्रत्येक स्थानीय तहले कम्तीमा एउटा डुंगा खरिद गरेर नजिकको सुरक्षा निकायको जिम्मामा राख्ने निर्णय गरेको छ।
यसैगरी, कतिपय स्थानमा बेलैमा नदीजन्य वस्तु निकाल्न नसक्दा डुबान भएको निष्कर्ष निकाल्दै तत्काल खोलामा ठेक्का लगाउन वा रोयल्टी काटेरै नदीजन्य वस्तु निकाल्न पहल गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि जतिसक्दो छिटो वातावरणीय प्रभाव मूल्यांकन कार्य अघि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।