गर्भपतनलाई बढ्दो चिकित्सकीय समर्थन

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

असुरक्षित गर्भपतनले असंख्य महिलाको ज्यान गएको छ र लाखौँ महिला बाँझोपनका सिकार भएका छन् 

जुन २०२२ मा अमेरिकाको सर्वोच्च अदालतले कोसेढुंगा मानिएको सन् १९७३ को ‘रो’विरुद्ध वेड मुद्दामा आफैँले गरेको निर्णयलाई उल्ट्याइदिएको छ । सन् २०२२ को आदेशअगाडि रोविरुद्ध वेड मुद्दाको फैसलाले अमेरिकी महिलाको कानुनी गर्भपतनको अधिकारलाई सुरक्षित गरेको थियो । सन् २०२२ को निर्णयले गर्भपतनमाथि प्रतिबन्ध लगाउने राज्यस्तरीय पहलको लहर निम्त्यायो । हालका दिनमा २१ अमेरिकी राज्यले आंशिक वा पूर्ण रूपमा गर्भपतनमा प्रतिबन्ध लगाएका छन् ।

परिणामतः अमेरिकी महिलाले सुरक्षित गर्भपतनको पहुँचमा पर्याप्त अवरोध सामना गरिरहेका छन् । कानुनी अस्पष्टता र लामो अदालती लडाइँ छिचोलेर मात्रै अमेरिकी महिलाले आफ्नो प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्ने सम्भावना हुन्छ । यी सीमितताले अनियोजित गर्भावस्था अन्त्य गर्न खोज्ने महिलालाई मात्र नभई गर्भपातको अनुभव गरेकालाई पनि प्रभाव पार्छ, किनभने यसले महिलालाई आकस्मिक चिकित्सा हेरचाहको पहुँचबाट बारम्बार रोक लगाउँछ ।

अमेरिकी चिकित्साकर्मीले सधैँ परिवर्तन हुने प्रतिबन्धले धेरैमाझ कानुनी अभियोगको भय निम्त्याइरहेको पुस्टि गरेका छन् । नतिजा चिकित्सकलाई आवश्यक र जीवन जोगाउने हेरचाह प्रदान गर्ने क्षमतामा सम्झौता गर्न सक्ने पीडादायी निर्णय गर्न बाध्य बनाएको छ । स्वास्थ्यकर्मीको हैसियतमा हामीले महिलालाई अत्यावश्यक चिकित्सा सेवाबाट वञ्चित गर्दा के हुन्छ भन्ने देखेका छौँ ।

औपचारिक चिकित्सा हेरचाह एवं प्रणालीबाहिर अस्वच्छ अवस्थामा गर्भपतन गर्दा महिला र बालिकामा गम्भीर स्वास्थ्य समस्या निम्तिइरहेको छ । यस प्रक्रियामा कहिलेकाहीँ मृत्युको उच्च जोखिम पनि निम्तिन्छ । प्रतिवर्ष विश्वभर अनुमानित तीन करोड ५० लाखले असुरक्षित गर्भपतनको सहारा लिन्छन्, जसले विनाशकारी परिणाम निम्त्याउँछ । यस क्रममा असंख्य महिलाको ज्यान गएको छ र लाखौँ महिला बाँझोपनका सिकार भएका छन् र दीर्घकालीन दुखाइजस्ता रोकथाम गर्न सकिने जटिलतासहितको शारीरिक र भावनात्मक आघात सहन बाध्य छन् ।

यद्यपि हामीले यस वर्षको अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाउने क्रममा केही सकारात्मक समाचार पनि पाएका छौँ । सुरक्षित गर्भपतनका लागि चिकित्सकीय समर्थन विश्वव्यापी रूपमा बढ्दै गएको छ ।

चिकित्सा पेसेवरका रूपमा विश्व स्वास्थ्य संगठनको अद्यावधिक सुरक्षित गर्भपतन दिशानिर्देशबमोजिम यसका लागि आवश्यक स्वास्थ्य सेवा लागू गर्न क्लिनिकल (चिकित्सकीय) प्रमाण हामीसँग छ । र, विश्वभरका धेरै सरकारले चिकित्सा पेसेवरको अन्तर्दृष्टि र मागद्वारा निर्देशित महिलाको स्वास्थ्य सुरक्षाका लागि सुरक्षित र कानुनी गर्भपतन हेरचाहमा पहुँच विस्तार गर्न कानुन र नीतिहरू पारित गरिरहेको देखिन्छ । उसो त अमेरिकामा गर्भपतनका मामिलामा प्रतिगामी कदम चालिँदा विश्वभर भने गर्भपतनको प्रवृत्ति वास्तवमा प्रगतिउन्मुख देखिन्छ । पछिल्लो ३० वर्षमा ६० भन्दा बढी मुलुक र क्षेत्रले आफ्नो गर्भपतन कानुनलाई उदार बनाएका छन् । बेनिनमा सन् २०२१ मा त्यहाँको संसद्ले देशमा मातृ मृत्युदर र असुरक्षित गर्भपतन दुवैलाई कम गर्न कानुनी गर्भपतनमा पहुँच विस्तार गर्दै यौन स्वास्थ्य र प्रजनन कानुनलाई संशोधन गर्न एउटा विधेयक पारित गरेको छ । यो कानुनलाई नेसनल कलेज अफ गायनोकोलोजिस्ट एन्ड ओब्स्टेट्रिसियन्स अफ बेनिन (सिएनजिओबी) ले समर्थन गरेको थियो । हालै इन्टरनेसनल फेडरेसन अफ गायनकोलोजी एन्ड ओब्स्टेट्रिक्स (फिगो) ले यसलाई उद्धृत गरेको थियो, अर्थात् सिएनजिओबीका विशेषज्ञले बेनिनमा मातृ मृत्यु र अशक्तताको प्रमुख कारण असुरक्षित गर्भपतनका परिणामलाई सम्बोधन गर्न क्लिनिकल प्रमाण र प्रत्यक्ष ज्ञानलाई स्वीकार गरेकोमा गर्व गर्छ ।

त्यसैगरी पश्चिम अफ्रिकाको सिएरालियोनको सरकार सन् २०२२ मा गर्भपतनलाई अपराधीकरण गर्नतर्फ अग्रसर भएको देखिन्छ । त्यहाँको मन्त्रिपरिषद्ले जोखिममुक्त मातृत्वसम्बन्धी विधेयकलाई सर्वसम्मतिले समर्थन गरेको थियो । यो वर्ष फ्रान्सले आफ्नो संविधानमा गर्भपतनको अधिकार समावेश गरेर इतिहास रचेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) मा संविधान संशोधनमा हस्ताक्षर गरेका थिए । चिकित्सा विशेषज्ञ र सिडिसाइड्स च्याम्पियन्सका रूपमा हामी यी तमाम प्रगतिको स्वागत गर्छौं । सुरक्षित गर्भपतन सेवा महिला स्वास्थ्य सेवाको एक प्रमुख पक्ष हो, किनभने यसले महिलालाई आफ्नो शरीर, जीवन र भविष्यबारे सूचित छनोट गर्ने अनुमति दिन्छ । सुरक्षित गर्भपतन सेवा उपलब्ध नभएमा महिलाले गम्भीर स्वास्थ्य जोखिमको सामना गर्नुपर्नेछ ।

तथ्यांक आफैँ बोल्छ । असुरक्षित गर्भपतन एक विनाशकारी सार्वजनिक स्वास्थ्य आकस्मिकता बनेको छ । विश्वभर सबै गर्भपतनको ४५ प्रतिशत घातक आकस्मिकता पर्छन् । गर्भपतनमा कानुनी पहुँच महत्वपूर्ण छ, तर कानुन प्रभावकारी हुन सुरक्षित गर्भपतन सेवा सहजै उपलब्ध हुनुपर्छ । उदाहरणका लागि नेपालमा सन् २००२ मा गर्भपतनको ऐतिहासिक वैधानिकीकरणको प्रभावकारी कार्यान्वयनलाई सहज बनाउन सरकारले गर्भपतन सेवाको निःशुल्क पहुँच बढाउन प्राथमिकता दिँदा मातृ मृत्युदर उल्लेखनीय रूपमा घटेको छ ।

मौजुदा प्रमाणले सुरक्षित गर्भपतनले महिलाको जीवन बचाउँछ भन्ने स्पष्ट पारेको छ । हामीले अहिलेसम्मको प्रगतिलाई स्वागत गर्दै गर्दा सरकारले महिलाको शरीरलाई थप राजनीतीकरण गर्न बन्द गर्नुपर्छ र यसको सट्टा प्रमुख चिकित्सा अधिकारीको निर्देशनलाई शिरोपर गर्नुपर्छ । विविध महिला र बालिकाको स्वास्थ्य र समृद्धिलाई प्राथमिकता दिएर र सुरक्षित गर्भपतन हेरचाहमा असीमित पहुँच सुनिश्चित गरेर हामी सबैका लागि थप न्यायपूर्ण, स्वस्थ र समतामूलक समाज निर्माण गर्न सक्छौँ ।

(गिल सुरक्षित गर्भपतनका लागि फिगो समितिका सदस्य एवं सिडिसाइड्स च्याम्पियन्स हुन् भने मिश्रा नेपालको स्वास्थ्य सेवा विभागकी महानिर्देशक एवं सिडिसाइड्स च्याम्पियन्स हुन्) अलजजिराबाट

सुझावित समाचार