मेयर नेपालीको बयान सकियो, आज थुनछेक बहस हुने

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
मेयर नेपालीको बयान सकियो, आज थुनछेक बहस हुने

फाइल तस्बिर

इमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणका मुख्य आरोपी देवकुमार नेपालीसँग बयान लिने काम सकिएको छ । लन्डनबाट फर्कने क्रममा इन्टरपोलको समन्वयमा तीन दिनअघि नेपालीलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरी काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै बागलुङ लगिएको थियो ।

सोमबार जिल्ला अदालत बागलुङमा पेस गरी उनीसँग बयान लिने काम सकेको अदालतका सूचना अधिकारीसमेत रहेका तहसिलदार शिवप्रसाद गौतमले जानकारी दिए । नेपालीविरुद्ध अदालतमा यसअघि नै अभियोगपत्र दर्ता भइसकेकाले सुरुमा बयान लिइसकिएको र मंगलबारबाट थुनछेक बहस हुने गौतमले बताए । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा हिरासतमै राख्ने भन्ने आदेश हुने उनको भनाइ छ ।

अदालतमा बयान दिँदै नेपालीले आफू मेलमिलापका लागि आएको बताएका थिए । ‘म मेलमिलाप गर्न आएको हो । म सबै बचतकर्ताको रकम फिर्ता गर्छु । यसका लागि सुरुमा हिसाव गर्नुपर्छ । बचतकर्ताहरूले पाउनुपर्ने पैसा कति हो, ऋण लगेकाहरूले कति तिर्न बाँकी छ, सम्पूर्णको हरहिसाब गरेर मैले कति तिर्नुपर्ने हो, त्यो रकमको हिसाब आउनुपर्यो,’ उनको भनाइ थियो, ‘हाल बाहिर जति कुरा आएको छ, त्यसमध्ये मेरो दायित्वमा आउने रकम तिर्न सक्ने मेरो अवस्था पनि छ । मेरो र श्रीमतीको नाममा रहेका घरजग्गा बिक्री गरेर पैसा तिर्न तयार छु ।’

नेपालीले आफू र आफ्नो परिवारको नाममा बागलुङमा नौ, पोखरामा तीन र काठमाडौंमा ६ वटा घर रहेको गत मंसिरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । सँगसँगै बागलुङमा ३३, पोखरामा ६ र काठमाडौ पाँच कित्ता गरी ४४ स्थानमा ४४ कित्ता जग्गा आफ्नो र परिवारको नाममा रहेकोसमेत उनले बताएका छन् ।  
 

सुझावित समाचार