मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका छन्। उनीहरूको अवस्था अज्ञात छ।
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थी पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए। उनले ६ जना विद्यार्थी पहिरोमा परेको बताए।
संयोजक ठकुरीले फुटबल प्रशिक्षकहरूले विद्यार्थीलाई एकेडेमी सञ्चालन गरिएको बत्सला माविबाट माथितिर गाउँमा लैजाने क्रममा पहिरोमा परेको जानकारी दिए। हराएकाहरूको खोजी कार्य भइरहेको र केही विद्यार्थीको पहिरोले पुरेको अवस्थामा शरीरका केही भाग देखिएको बताए।
संयोजक ठकुरीका अनुसार बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन्। एन्फाले गत वर्ष श्री बत्सलादेवी सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।