नेपालीहरूको महान् पर्व दसैँ नजिकिँदै गएपछि संखुवासभामा बजार अनुगमनले तीव्रता पाएको छ। खाँदबारी नगरपालिकाको अगुवाइमा नगरभित्रका मुख्य बजार खाँदबारी, मानेभञ्जाङ र तुम्लिङटारलगायतका क्षेत्रहरूको बजार अनुगमन गरिएको खाँदबारी नगरपालिकाका कर्मचारी तथा बजार अनुगमन टोली संयोजक गुणराज खत्रीले बताए ।
उनका अनुसार, खाँदबारी– १ को मुख्य बजार प्रहरी गेटदेखि देवकोटा चौकसम्म, खाँदबारी– ७ को नयाँबजार, मंगलादेवीथान, खाँदबारी– ३ को मानेभञ्जाङ र खाँदबारी– ९ को तुम्लिङटार बजार अनुगमन गरिएको हो। खाँदबारी नगरपालिकाका कर्मचारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सञ्चारकर्मीहरूको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
उक्त बजार अनुगमन टोलीले खाद्यान्नको खुद्रा तथा डिलर, दैनिक उपभोग्य वस्तुहरूको बिक्री–वितरण गर्ने खाद्यान्नलगायतका पसल तथा व्यापार–व्यवसायहरूको अनुगमन गरेकाे टोली संयोजक खत्रीले बताए। चाडपर्वको समयमा अन्यको तुलनामा खरिद–बिक्री बढी हुने र त्यही क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरू खरिद–बिक्री हुने सम्भावना भएकाले त्यसको निगरानीको लागि अनुगमन सुरु गरिएको हो ।
गत असोज ६ गतेदेखि सुरु भएको बजार अनुगमन आज (शुक्रबार) समापन भएको नगरपालिकाले जनाएको छ । एक सातासम्म निरन्तर खाँदबारी नगरपालिकाले उपभोक्ताको हितमा ध्यान राखेर बजार अनुगमन गरेको नगरपालिकाको भनाइ छ ।
अनुगमन टोलीले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको अवस्था, सञ्चय, गोदाम र म्याद गुजेका सामानहरूकाे अवस्थाबारे निरीक्षण गरेको हो भने व्यवसाय कारोबार दर्ता, नवीकरण, आपूर्ति, मूल्य गुणस्तर नापतौल, मूल्य सूची छ–छैन, एकथरी व्यवसाय दर्ता गरी अर्कै व्यापार–व्यवसाय गर्ने र मिसावटको अवस्थालगायतका व्यापारिक नियमन अनुगमन गरिएको थियो। सम्बन्धित निकायहरूले जुनसुकै वेला बजार अनुगमन हुने भएकाले व्यापारीले सचेत रहनुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी जिल्लाका मादी नगरपालिका र धर्मदेवी नगरपालिकामा करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।