केयूमा दुई सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक व्यक्ति भेला हुने

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरू भेला हुने भएका छन् । बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (मेलो)को संयुक्त आयोजनामा विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुन लागेको हो।

बुधबार केयूमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ११ गतेदेखि १३ गतेसम्म तीन दिन सम्मेलन सञ्चालन हुने जानकारी दिइएकाे हाे। साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थी सदस्य रहने अन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रा. मञ्जु जाइड्का, जो आफैँ पनि प्रतिष्ठित शैक्षिक व्यक्तित्व र मेलोकी अध्यक्षसहित भारतबाट विद्वानहरूको टोली नेपाल आइसकेको आयोजकले जनाए ।

‘मेलो सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रूपले  चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुने आयोजकको भनाइ छ। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र १२० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागी रहने छन् भने करिब १२० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्।

दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. अम्मराज जोशीले उद्घाटन सत्रलाई मुख्य सम्बोधन गर्नेछन्। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्राध्यापक कृष्णचन्द्र शर्मा, प्राध्यापक आनन्द शर्मा, प्राध्यापक रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटालगायतको समूहले छलफल गर्ने कार्यतालिका छ। 
 

See More On

सुझावित समाचार