चीनबाट नेपाल आउँदै गरेका कन्टेनर खासामा अड्किएका र दसैँअघि नै तातोपानीस्थित सुक्खा बन्दरगाह पठाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
बुधबार दिउँसो मितेरीपुलनजिकै रहेको चिनियाँ क्षेत्र लिविङमा भएको काउन्टरपार्ट बैठकमा थापाले जाङ्मुपोर्टस्थित चिनियाँ अध्यागमनका प्रतिनिधि मिस्टर झाओलाई यस्तो आग्रह गरेका हुन् । दसैँका लत्ताकपडा र फलफूल बोकेका कन्टेनर चिनियाँ भूभागमा अड्किएको जानकारी पाउनसाथ उनले चिनियाँ पक्षसँग तत्काल वार्ता गरेका हुन् । बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराई, सुरक्षा प्रमुख, र अध्यागमन कार्यालय कोदारी सहभागी थियो । चीनतर्फबाट भने जाङ्मुपोर्टका सुरक्षा अधिकारी, भन्सार र अध्यागमन सहभागी थियो ।
जवाफमा चिनियाँ पक्षले दसैँका सामान पठाउने सकारात्मक वचन दिएका छन् । कन्टेनर, सीमासुरक्षा, अपराध नियन्त्रण र नाका सहज सञ्चालनका लागि सौहार्दपूर्ण छलफल भयो, प्रजिअ थापाले भने । खासा पुनर्निर्माण सुरु भएकाले कन्टेनर पठाउन केही अप्ठ्यारो रहेको चिनियाँ अधिकारीले बताएका छन् । दसैँका सामान बोकेका कन्टेनरले पार्किङ भाडा दैनिक पाँच सय आरएमबी तिर्नुपर्छ जुन नेपाली व्यापारीले व्यहोर्नुपर्छ ।