०८१/८२ मा मुद्रास्फीति ५.५ प्रतिशत पुग्ने र चालू खाता घाटामा जाने एडिबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष ०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो प्रक्षेपण गरेको हो । यो सरकारले चालू आर्थिक वर्षमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्ष ०८०/८१ मा हासिल भएको अनुमानित ३.९ प्रतिशतभन्दा बढी हो ।
‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बढ्नेछ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनी कोरवाले भने । एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२४)का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि बाली संकलनको अनुकूलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने र पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवालगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवाक्षेत्र विस्तार हुने अपेक्षा गरिएको एडिबीले जनाएको छ ।
एसियाली विकास बैंकका वरिष्ठ अर्थशास्त्री मानवरसिंह खड्काले सेवा र कृषि क्षेत्रमा भएको वृद्धिले बढी योगदान दिने बताएका छन् । उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) २ प्रतिशतबाट बढेर ३.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ, र यो उच्च वृद्धिको कारण कृषिमा सुधार, विद्युत् उत्पादन क्षमता बढेको, र परियोजनामा आधारित थियो ।’
कृषि क्षेत्र ३ प्रतिशतले वृद्धि भएको र मुख्य रूपमा धानको उत्पादन वृद्धि भएको कारण आर्थिक वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘नेपालमा कृषि क्षेत्रको वृद्धिमा धानको महत्वपूर्ण योगदान छ । यसले कृषि जिडिपीको लगभग ७० प्रतिशत हिस्सा ओगटेको छ र जब राम्रो मनसुन हुन्छ, राम्रो धान उत्पादन हुन्छ, जसले कृषिसँगै समग्र आर्थिक वृद्धिलाई योगदान पुर्याउँछ । त्यसैले यो धान उत्पादन र अन्य बालीहरू विशेष गरी हिउँदे बाली पनि अघिल्लो आर्थिक वर्षमा अनुकूल देखिएको थियो ।’
विशेष गरी निर्माण र उत्पादन क्षेत्रहरू सङ्कुचित भएकाले उत्पादन क्षेत्र कमजोर भएको उनको विश्लेषण छ । यद्यपि, विद्युत् उपक्षेत्रलाई हेर्दा यो १७.४ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार नेपालको जडित क्षमता अघिल्लो आर्थिक वर्षमा ३,१५७ मेगावाटबाट बढेर ३,५०९ मेगावाट पुगेकाले यसको वृद्धि सम्भव भएको उनको भनाइ छ ।
उनले भने, ‘कृषि उत्पादन ३.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ, किनकि धानको रोपाइँ समयमै भएको छ, र किसानहरूले आवश्यक सामग्री समयमा नै प्राप्त गरेका छन् । विशेष गरी रासायनिक मलको अभाव छैन ।’
महँगीदर ५.५% पुग्ने अनुमान
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने लक्ष्य राखेको छ । एडिबीले मुद्रास्फीति ५.५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । गत आव ०८०/८१ मा ५.४ प्रतिशत मुद्रास्फीति रहेको अनुमान छ । कृषि बाली उत्पादनमा वृद्धि तथा भारतमा मुद्रास्फीतिमा सामान्य गिरावट आएमा मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहन सक्ने एडिबीको अनुमान छ । नेपालको दुईतिहाइ व्यापार भारतसँग रहेको र खुला सिमानाका कारण दुई देशबिच धेरै असमानता हुँदै आएको खड्काको विश्लेषण छ ।
चालू खाता घाटामा जाने
व्यापार घाटामा गिरावट, उत्साहप्रद रेमिट्यान्स आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष ०८०/८१ मा बाह्य क्षेत्रमा आएको सुधारले चालू खाता बचत कुल गार्हस्थ्य उत्पादनको ३.९ प्रतिशत पुगेको थियो । यद्यपि, चालू आवमा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतसम्म खुम्चिने एडिबीको आकलन छ ।