युरोपका विभिन्न अन्तर्राष्ट्रिय भलिबलमा सहभागी भइसकेकी पेलिन एरोक्टेले काठमाडौं स्पाइकर्सबाट खेल्ने
काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगका लागि टर्कीकी चर्चित अन्तर्राष्ट्रिय बायाँहाते हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । टर्किस भलिबलमा एरोक्टेलाई शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमता भएकी खेलाडीका रूपमा चिनिन्छ । उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् ।
एरोक्टेसँग युरोपियन यू–१६ र यू–१७ युरोपियन च्याम्पियनसिपसँगै यू–१९ विश्व च्याम्पियनसिपको अनुभव छ । उनले यी सबै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता टर्कीको राष्ट्रिय टोलीबाट खेलेकी हुन् । सन् २०२२ मा उनले युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् । टर्कीको उमेर समूहमा उनी सर्वाधिक सफल खेलाडीका रूपमा रहेकी छिन् । उच्चतम व्यावसायिक महिला भलिबल लिगका साथै उनले टर्कीको काडिनलर भलिबल लिग खेलेकी छिन् ।
उनीसँग टर्कीको शीर्ष टोलीबाट खेलेको अनुभव छ । राष्ट्रिय टिम र क्लबमा देखाएको प्रदर्शनका आधारमा उनले बिभिए यू–१६ मा मोस्ट भ्यालुएबल खेलाडी, बिभिए यू–१७ मा उत्कृष्ट सर्भरसँगै यू–१७ युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट अपोजिट उपाधि जितेकी थिइन् । अन्तर्राष्ट्रिय खेलमा थुप्रै अनुभव बटुलेकी एरोक्टेलाई अनुबन्ध गर्दा काडमाडौंले खुसी जनाएको छ । एरोक्टे १९० सेन्टिमिटर अग्ली छिन् ।
अनुभवी विदेशी
काठमाडौं स्पाइकर्सका सिओओ सुदीक्षा अधिकारीले टर्किस खेलाडीको आगमनले आफ्नो टोली बलियो र सन्तुलित भएको बताइन् । ‘अहिले काठमाडौंको टिम बलियो देखिएको छ, हामीले पेलिन एरोक्टेलाई भित्र्याएको छौँ, उनीसँग अन्तर्राष्ट्रिय अनुभव छ,’ अधिकारीले भनिन् । एरोक्टेले काठमाडौंमा सामेल हुन पाउँदाको उत्साहित भएको बताइन् । ‘यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा खुसी छु, भलिबल मेरा लागि खेल मात्र नभई प्रेम पनि हो,’ उनले भनिन्, ‘आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न तयार छु ।’
गण्डकीमा ट्यालेन्ट हन्टबाट थापा छनोट
गण्डकी थन्डर्सले ट्यालेन्ट हन्टबाट सोइङ थापालाई टोलीमा समावेश गरेको छ । पोखरामा भएको छनोटमा थापाले ३० प्रतिस्पर्धीलाई पाखा लगाउँदै गण्डकी थन्डर्समा स्थान पक्का गरेकी हुन् । १७ वर्षीया थापा ५ फिट ८ इन्च हाइटकी छिन् । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइजी लिगमा हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी राख्नुपर्ने नियम रहेको थियो । लिग १४ देखि १९ असोजसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।