योजनाबद्ध रूपमा बचतकर्ताका नाममा बैंकबाट १० लाखका दरले ऋण झिकियो, तर आधा मात्रै दिएर ठगी गरियो

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

विराटनगरस्थित उमागौरी कृषि सहकारीका बचतकर्ताको पैसा त डुबेकै छ, अचम्म के छ भने महिला ऋणीहरू पनि उठ्नै नसक्ने गरी ठगिएका छन् । ऋणीहरू धेरैजसोले किस्ता र ब्याज खुरुखुरु सहकारीमा बुझाए पनि अहिले ऋण तिर्न भन्दै बैंकले ताकेता गरिरहेको छ । 

सहकारी सञ्चालकले महिलालाई उद्यमको आकर्षक योजना दिएर ऋण दिए । तर, अहिले सहकारी डुबेको छ, बैंकको तारन्तारको फोनले ऋणी महिला र उनका परिवार तनावमा छन् । सहकारीका नाममा अनौठो ठगी धन्दा थाहा पाउन पहिला ऋणीका कथा बुझ्नुपर्ने हुन्छ । 

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रविन ज्वेलर्स चलाउँदै आएका राजेश साहले उमागौरी कृषि सहकारीमा दैनिक बचत गर्थे । तर, बचत संकलन गर्न आउने कर्मचारीले १० लाखसम्म ऋण पाइने सुनाए । त्यसपछि उनी सहकारीका अध्यक्ष शम्भु रौनियारलाई भेट्न उनकै कार्यालय पुगे । 

रौनियारले एक लाखको सेयर सदस्य बनेमा विनाधितो महिलालाई उद्यम गर्न १० लाख दिइने सुनाएपछि राजेशले पत्नी सुनिता साहको नाममा ०७७ चैतमा सेयर किने । ‘तीन प्रतिशत ब्याजमै ऋण पाइने भनेर भन्नुभएको थियो । अझ अनुदान आएपछि किस्ता तिरेको रकम पनि फिर्ता पाइन्छ भनेपछि सेयर सदस्य बन्यौँ,’ राजेशले नयाँ पत्रिकासँग भने, ‘सहकारीमा गएर २० वटा जति कागजमा सही छाप गरिदियौँ ।’

तर, साह दम्पतीले त्यसको पाँच महिनापछि ऋणबापत मेघा बैंकको पाँच लाख ४२ हजार रुपैयाँको चेक पाए । ‘अरू पैसा पछि दिँदै जान्छौं भनेका थिए । ऋण लिएपछि हामीले दैनिक एक हजार गरेर मासिक २६ हजारको १२ किस्ता (तीन लाख १२ हजार)सहकारीलाई बुझायौँ,’ साहले भने, ‘दुई वर्षअघि सहकारी अचानक बन्द भयो ।’

सहकारी नै बन्द भएपछि नबिल बैंक विराटनगरले साउन ०७९ देखि तारन्तार फोन गरेर ‘तपाईं १० लाखको ऋणी हो, चाँडै किस्ता भुक्तानी गरिसक्नुहोला, नत्र कालोसूचीमा पर्नुहुन्छ भन्न थाल्यो । ‘पछि तपाईंलाई कालोसूचीमा राख्यौँ, पत्रिकामै सूचना निस्केको छ भनेका थिए, अचेल फोन गर्न पनि छाडेका छन्,’ उनले भने ।

रबिन ज्वेलर्सको नाममा नबिलले ६ पटक पत्र पठाइसकेको छ । ७ असार ०८० मा पठाइएको पत्रमा भनिएको छ, ‘भाका  रकम नियमित नभएकाले ऋणकर्जासम्बन्धी सर्त बन्देजहरू उल्लंघन भएको हुँदा तपाईंले तिर्न, बुझाउन बाँकी तल उल्लेखित सावाँ, ब्याज, हर्जना ब्याज र विलम्ब शुल्क यस पत्रका मितिले १५ दिनभित्र बैंकमा सम्पर्क राखी अविलम्ब चुक्ता भुक्तान गर्नुहुन अनुरोध गर्दछौँ ।’

साहले बताएअनुसार उनीहरूले नबिलबाट नभई सहकारीबाट ऋण लिएका हुन् । पाँच लाख ४२ हजार(ब्याजबाहेक)मध्ये  तीन लाख १२ हजार भुक्तान भइसकेको छ । तर, नबिलले भने  दुई लाख ९४ हजार ८७१.६७ रुपैयाँ तिर्नुपर्ने भन्दै पत्र काटेको थियो ।

सेराज अन्सारी पनि कर्सिया बजारमा मासु पसल चलाउँछन् । उमागौरीका अध्यक्ष रौनियार आफैँ मासु पसल पुगेर सहकारीको सेयर सदस्य बनेमा चार प्रतिशत ब्याजदरमा १० लाख ऋण पाइने आश्वासन दिए ।  

अन्सारीले पनि पत्नी खुस्बुको नाममा २० हजारको सेयर किने । कागज सही छाप गराएर सहकारीलाई जिम्मा लगाए । सहकारीले चार महिनापछि उनकी पत्नीको नाममा दुई लाखको ऋण दियो ।

सेराजले कुखुराको मासु पसल गरेर कमाएको पैसा मासिक १० हजारका दरले किस्ता तिर्दै गए । तर, दुई लाख ऋणबापतको १६ किस्ता (एक लाख ६० हजार) तिरिसकेपछि दुई वर्षअघि सहकारी हिनामिनाका कारण बन्द भयो ।

सहकारी बन्द भएपछि ६ महिनाअघि मात्र विराटनगरस्थित नबिल बैंकबाट फोन आयो– तपाईंले १० लाख ऋण लिनुभएको छ, समयमै भुक्तानी गर्नुहोला ।’ 

बैंकले कालोसूचीको चेतावनी दिएर ताकेता गरिरह्यो । त्यसपछि सेराज र उनकी पत्नी खुस्बु छाँगाबाट खसे । ‘सहकारी भागेपछि बैंकबाट फोन आयो, १० लाख ऋण छ भनेर । मैले होइन हजुर दुई लाख मात्र लिएको छु, त्यो पनि सहकारीबाट भनेँ, ‘खुस्बुले भनिन्, ‘त्यसपछि अध्यक्ष रौनियारलाई फोन गर्‍यौँ । उहाँले चिन्ता नलिनु, म मिलाउँछु भनेपछि बैंकले फोन गर्न छाड्यो  ।’

उनले आफूहरूका नाममा सहकारीले अर्कै मान्छे पठाएर पैसा लिएको बताइन् । ‘हाम्रो नाममा सहकारीले अर्कै मान्छे पठाएर १० लाख रुपैयाँ नबिल बैंकबाट निकालिसकेको रहेछ । हामीले ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी गर्‍यौँ,’ साहले भने, ‘प्रहरीले अध्यक्ष शम्भु रौनियारलाई पक्राउ गर्‍यो । तर, उनका दाजु विनोद रौनियारले नबिल बैंकको ऋणको जिम्मा सबै सहकारीले नै लिने र हामीलाई हामीले जम्मा गरेको बचतको पैसा पनि फिर्ता दिने कबुल गरेर ६ साउन २०८१ मा ३ लाखको व्यक्तिगत चेक ६ महिनापछिको मिति राखेर दिएका छन् ।’    

उद्यम गर्न भनेर लिएको दुई लाख ऋण चुक्ता गर्न बुझाएको एक लाख ६० हजार र सेयरबापतको २० हजार पनि गुमेको उनले सुनाइन् । 

कर्सिया बजारमा चियानास्ता पसल चलाएर जीविका चलाउँदै आएकी पूर्णीमादेवी मण्डलको एक कट्ठा जग्गा उमागौरी सहकारीका कारण रोक्कामा परेको छ । बेच्न पाउँदिनन् । 

चार वर्षअघि महिलालाई व्यवसाय गर्न सस्तोमा १० लाख रुपैयाँ ऋण पाइन्छ भनेपछि उनले उमागौरी सहकारीको एक लाखको सेयर किनेकी थिइन् । ‘ब्याज कम लाग्छ । अनुदान पनि आउँछ, सेयर पनि बढेर तेब्बर चौब्बर हुन्छ भनेर सहकारीका अध्यक्ष शम्भु रौनियारले भनेका थिए,’ मण्डलले भनिन्, ‘तर, मलाई सहकारीले एक लाख रुपैयाँ सेयरको र ३० हजार सेवा शुल्क काटेर बाँकी पैसा (आठ लाख ७० हजार) पाइन् ।’ तर, उनले ऋणको २९ हजारका दरले २२ किस्ता (६ लाख ३८ हजार) र २५ हजारका दरले १० (दुई लाख ५० हजार) तिरिन् । सहकारी बन्द भयो । 

‘नबिल बैँकले सात लाख ऋण ६ अबदेखि सहकारीलाई होइन, हामीलाई किस्ता तिर्नुहोला नत्र कालोसूचीमा पर्नुहुन्छ भन्यो,’ पूर्णिमाले भनिन्, ‘मैले बैंकबाट होइन, सहकारीबाट ऋण लिएकी थिएँ । उहाँहरूले हिसाबकिताब मिलाउनुभएको हो भने पनि मैले तिरेको पैसा उता बुझाएनछन् । ५० लाखको जग्गा रोक्का छ ।’

उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । ६ महिनापछिको मिति राखेर तीन लाखको व्यक्तिगत चेक उपलब्ध भएको उनले सुनाइन् । ‘केही महिनाअघिसम्म अध्यक्षले म चाँडै बोलाउँछु र सबै मिलाउँछु भन्थे । तर, आजकल त फोन पनि उठाउँदैनन् । लुकेर विराटनगरतिर बसेका छन् अरे,’ उनले भनिन् । 

एक लाखमा उमागौरीका सेयर सदस्य बन्न पुगेका नारायण खनालले छोरी सुनिता तिम्सिनाका नाममा २२ पुस २०७७ मा विनोधितो आठ लाख ७८ हजार ऋण लिएका थिए ।  कर्सिया बजारमा कपडा पसल चलाउँदै आएका उनले २६ हजारका दरले २२ किस्ता (पाँच लाख ७२ हजार) सहकारीलाई तिरे । तर, एक वर्षअघि होला, विराटनगरस्थित नबिल बैंकबाट  फोन आयो ‘तपाईंको किस्ता आएकै छैन, चाँडो बुझाउनुहोला । नत्र कालोसूचीमा पर्नुहुन्छ’ भनेर । मैले जायजेथा जाला भनेर बैंकलाई किस्ताअनुसार ऋण बुझाउन थालेँ । मैले किस्ता तिरेको पैसा सहकारीबाट फिर्ता आएको छैन, अहिले बैंकलाई किस्ता बुझाउन थालेको छु,’ उनले भने । 

यसरी सहकारीको पासोमा पर्थे महिला
उमागौरी कृषि सहकारीका अध्यक्षसहितका सञ्चालकहरू स्थानीयलाई विनाधितो १० लाखसम्म महिला उद्यम ऋण दिने भन्दै सेयर सदस्य बनाउँथे । र, सदस्यका नाममा बैंकबाट १० लाखका दरले ऋण लिएर आधा मात्र उपलब्ध गराएर बाँकी अन्यत्रै लगानी/खर्च गर्ने गरेको पाइएको छ । 

कसैले आफ्नो व्यवसायबाट गाँस काटेर बचत गरेको रकम पाएका छैनन् भने केहीले किस्ताबापत तिरेको रकम पनि गुमाउँदै लिँदै नलिएको १० लाखको बैंकको ऋणी बन्नुपरेको छ ।  यसमा सहकारीका अध्यक्ष शम्भु रौनियारदेखि अन्य पदाधिकारी र सञ्चालक सदस्यको संलग्नता देखिन्छ । 

कोषाध्यक्ष शम्भुप्रसाद सिंहका अनुसार ०७७ अन्तिमदेखि ०७९ सम्म महिला उद्यम शीर्षकमा ८५ जनाको नाममा १० लाखका दरले कर्जा गएको छ । यसमा सहकारी आफैँ प्रतिनिधि बनेर ऋण निकालेर दिइएको देखिन्छ । पाँच सय महिलालाई ऋण दिने योजना भए पनि ८५ जनालाई ऋण दिएपछि योजना अगाडि बढ्न सकेन ।  

दुई वर्षअघि सहकारी बन्द भएपछि बचतकर्ता र ऋणीले कार्यालय घेराउ गरे । प्रहरी प्रशासन गुहारे । अध्यक्ष शम्भुप्रसाद रौनियार, सचिव आलम अन्सारी चेक अनादर कसुरमा पक्राउ परे । सबै बचतकर्ता र ऋणीलाई रकम फिर्ता गर्दै जाने आश्वासनमा सहमति गरेर उनीहरू ६ महिनाअघि छुटेका थिए ।  

‘विपन्न महिलालाई उद्यमशील बनाउने हाम्रो उद्देश्य हो, नबिल बैंकसँग सम्झौता नै गरेर हामीले सस्तोमा ऋण दिएका हौँ,’ कोषाध्यक्ष सिंहले भने, ‘नत्र चार प्रतिशत ब्याजदरमा, त्यो पनि विनाधितो कसैले कर्जा दिन्छ ? ऋणीले नतिरेमा सहकारीले तिर्छ भनेर करारनामा गरेका छौँ । तर, कोभिडपछि सहकारीमा समस्या आएपछि योजना अधुरै रह्यो । हाम्रो योजना त उद्यमी बनाउन ७५ लाखसम्म ऋण प्रवाह गर्ने भन्ने थियो ।’

तर, १० लाख कर्जा भनिए पनि धेरैजसोले त आधा मात्र पाएको बताउनुभएको छ नि भन्ने नयाँ पत्रिकाको प्रश्नमा सिंहले भने, ‘८५ जनाको नाममा १० लाखका दरले कर्जा निकाले पनि आर्थिक अवस्था निकै दयनीय भएका, तिर्न नसक्नेको हकको कर्जा अन्यत्र (अरूलाई) पनि दिएका हौँ ।’ 

कर्जा प्रवाह भएकामध्ये धेरैजसोलाई विनाधितो उपलब्ध गराइएको, तर १६ जनाको भने जग्गा धितोमा रहेको उनले सुनाए । ‘सहकारीले जग्गा ठाडो रोक्का राखेको हो । ऋण क्लियर गरेकामध्ये ५–७ जनाको जग्गा फुकुवा भइसकेको छ । कोभिड आएपछि धेरै ऋणीले किस्ता तिर्न छाड्नुभयो । अहिले जति तिर्न बाँकी छ, बैंकमा तिर्न भनेका छौँ,’ उनले भने, ‘७५ प्रतिशत बैंकमा गएका छैनन् । सेयरको पैसा पनि ऋणमा कटाउन खोजिरहेका छन् । त्यही भएर समस्या भएको हो । हामी बिस्तारै समस्या सल्टाउँछौँ ।’ 

नबिल बैंक विराटनगर शाखाका प्रबन्धक सुभास आचार्यले भने उमागौरी सहकारीका सेयर सदस्य नबिलका ऋणी रहे पनि विस्तृत जानकारी केन्द्रबाट लिन सुझाए । ‘ऋणीलाई बैंकले ताकेता गर्छ नै । यो पोलेसीको कुरा भएकाले बाँकी कुरा हामीलाई थाहा हुँदैन । थप जानकारी लिन हाम्रो बैंकको केन्द्रीय कार्यालयका सूचना अधिकारीसँग सम्पर्क राख्नुहोला,’ उनले भने ।

सञ्चालक समितिका सदस्यका अनुसार महिला उद्यमीका नाममा कसैलाई सहकारी आफैँ जमानी बसेर त कसैको जग्गाको कागजात राखेर बैंकबाट ऋण निकाल्ने गरिन्थ्यो । तर, त्यसरी निकालेको पैसा सदस्यहरूलाई थोरै दिएर धेरै सहकारीका अध्यक्षलगायतका पदाधिकारीले अपचलन गर्ने गर्दथे । उक्त रकमबाट अध्यक्ष रौनियारसहितले अकुत सम्पत्ति जोडेको कतिपयको आरोप छ । 

उमागौरीमा पाँच हजार सेयर सदस्य छन् । कुल पुँजी १८ करोड ५१ लाख रहेको यो सहकारीमा १४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीले ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न बैंक र वित्तीय संस्थाबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको देखिएको छ  । बचतकर्ताको  दुई करोड तीन लाख ५४ हजार रुपैयाँ फिर्ता गर्न बाँकी छ । 

See More On

सुझावित समाचार