उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ। यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डेले बताए।
समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा उनीहरूको मृत्यु भएको डा. पाण्डेको भनाइ छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रेषण भएका बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको छ।
यस वर्ष वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेका विभिन्न जिल्लाबाट आएका १२० जनाभन्दा बढी बिरामीको भेरी अस्पतालमा उपचार भएको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पाण्डेले जानकारी दिए। सर्पदंशको उपचार हुने नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ। कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आइसियू वार्ड भरिने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए।
उनका अनुसार भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन्। सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुक तथा गाउँभरको परम्परागत उपचार विधिमा नलाग्न उनको आग्रह छ।
सूचना अधिकारी डा. रिसालका अनुसार सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ। यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा ल्याउँदा ज्यान जोगाउन निकै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ। भेरी अस्पतालले तराईमा पाइने कोब्रा, करेतजस्ता विषालु सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ। भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने, रगत बग्ने, कलेजो र मिर्गौलामा असर पार्दा डाइलाइसिस गरी रगत चढाएर उपचार गर्ने गरेको डा. रिसालले बताए।