पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलले सोमबार शिक्षामन्त्री विद्या भट्टराईसमक्ष प्रतिवेदन बुझाएको छ । गत २२ साउनमा शिक्षा मन्त्रालयले पाठ्यक्रमविज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्यांकन गरी अन्तर पत्ता लगाउने र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको माग र आवश्यकतासँग पाठ्यक्रमको समायोजन तथा सान्दर्भिकता बढाउने उपायको पहिचान गर्ने, पाठ्यक्रम निर्माण प्रक्रिया सुधार गरी श्रमबजार प्रवृत्तिहरूसँग अनुकूलन गर्न सुझाव सिफारिस गर्ने कार्यादेश दिइएको थियो ।

कक्षा ९–१२ को प्राविधिक धार र प्रिडिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रमको एकरूपता कायम गर्न उपयुक्त सुझाव सिफारिस गर्ने र उत्पादित जनशक्तिलाई रोजगारी प्राप्तिमा सहयोग हुने गरी पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि अन्य राय सुझाव दिने अधिकार कार्यदलले पाएको थियो । सोही आधारमा कार्यदलले प्रतिवेदन तयारी पारी शिक्षामन्त्रीलाई बुझाएको हो ।

कार्यदलले श्रमबजारको मागअनुकूल विभिन्नस्तरका सीपयुक्त जनशक्ति तयार गर्ने, सिटिइभिटी कार्यक्रमको मुख्य उद्देश्यमा केन्द्रित भई डिप्लोमा र प्रिडिप्लोमा पाठ्यक्रम र कार्यक्रमको समीक्षा र पुनर्संरचना गर्ने, वास्तविक पेसागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पाठ्यक्रम विकास प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउने, पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्यांकन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । 

सुझावित समाचार