बारा प्रहरीले अवैध लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । निजगढ प्रहरीले निजगढ नगरपालिका– ९ बाट लागुऔषध ट्रामाडोल १३० प्याकेटसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका– ९ क्याम्पस चोक बस्ने प्रेमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी वर्ष ६० की फूलमाया पाख्रिन, निजगढ– ८ बुद्ध चोक बस्ने वीरेन्द्र मुक्तानको छोरा अन्दाजी वर्ष १९ को विवेक लामा मुक्तान, निजगढ नगरपालिका– ३ सिंगौल बस्ने जितबहादुर जिम्बाको छोरा अन्दाजी वर्ष २४ को रेमन जिम्बा र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका– ६ पिपल बोट बस्ने कृष्णबहादुर बल तामाङको छोरा अन्दाजी वर्ष ३१ को लेखबहादुर बल तामाङ रहेका छन ।
निजगढ– ९ का प्रेमबहादुर पाख्रिनको घरमा लागुऔषधको किनबेच भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको टोलीले निजको घरको कुखुरा र बाख्राको खोरमा खानतलासी गर्दा सेतो बोरा र कालो प्लास्टिकको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल १३० प्याकेट १३०० पिससहित उनीहरूलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत बारामा पेस गरी आठ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको निजगढ प्रहरीले जानकारी दिएको छ ।