नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ विनयी खोलामा भारतीय तीर्थयात्री बोकेको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस गएराति करिब २ बजेतिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
घाइते सबै राजस्थानका नागरिक हुन् । दुर्घटनामा परेर घाइते हुनेहरूमा वृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारीलाल शर्मा र मञ्जु शर्मा छन् ।
त्यस्तै, बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा, मुरजा शर्मा, सावित्रा शर्मा, गीतादेवी शर्मा, शान्ति शर्मा, मुन्नादेवी शर्मा, रामस्वरूप शर्मा, गमस्वरूप मिना शर्मा र कैलाश शर्मा घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
घाइतेहरूको विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । बसमा ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते सातजनाको उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको छ भने बाँकीको विनयी त्रिवेणी आधारभूत स्वास्थ्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।