कांग्रेस संसदीय मामिला विभागमा १० सदस्य मनोनीत

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

कांग्रेस संसदीय मामिला विभागमा १० सदस्य मनोनीत भएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले गोविन्दबहादुर शाह प्रमुख रहेको विभागमा विधानको व्यवस्थाअनुसार सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेमा महेशसिंह कठायत, लाक्पा शेर्पा, नरेन्द्र साह, अस्मिता लामा, तेज शाह, धनबहादुर गिरी, माधव पाण्डे र मोहन सुनार छन् । 

यस्तै, केन्द्रीय समितिमा ९७ जना रहने र संघीय संरचनाअनुसारका संगठन बनाउने गरी तरुण दलको विधान पारित भएको छ । संशोधित तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार तरुण दल केन्द्रीय समितिको लोकन्थलीमा ५ र ६ असोजमा बसेको बैठकले संशोधित विधान सर्वसम्मतिले पारित गरेको हो । यसअघिको विधानमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था थियो । हाल तरुण दलमा चार सय एक सदस्यीय कार्यसमिति छ । कांग्रेसले पार्टीका सबै समूहलाई समेटेर तदर्थ समिति बनाउने र चाँडै महाधिवेशन गर्ने भन्दै जम्बो कार्यसमिति बनाएको थियो ।

गत वर्ष १५ र १६ चैतमा बसेको दलको बैठकले पाँचौँ महाधिवेशन सम्पन्न गर्न संघीय संरचनाअनुरुप विधान संशोधन गर्ने निर्णय गरेको थियो । यसैअनुसार अध्यक्ष विद्वान् गुरुङलाई समिति निर्माण गर्ने अधिकार दिएको थियो । गुरुङले केन्द्रीय सदस्य धनराज तुम्बापोको संयोजकत्वमा मुना भुसाल, कृष्ण रिजाल, विवेक न्यौपाने, लोकहरि पौडेल र मुख्यसचिव पोखरेल सदस्यसचिव रहेको विधान संशोधन मस्यौदा समिति गठन गरेका थिए । यससँगै तरुण दलले पहिलोपटक संघीय संरचनाअनुसारको संगठन बनाउने आधार तयार गरेको छ ।

सुझावित समाचार