आइसिसी विश्वकप लिग २ : लगातार पाँच खेल गुमाएको नेपाल खराब लयमा

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

गत १७ फेब्रुअरीमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपालले आइसिसी विश्वकप लिग २ मा सातमध्ये ६ खेल गुमायो 

गत सिजनको आइसिसी विश्वकप लिग २ मा मोन्टी देसाईले प्रशिक्षण सम्हालेपछि नेपालले १२ मध्ये ११ खेलमा सनसनीपूर्ण जित निकालेको थियो । यो प्रदर्शनअघि विश्वकप लिग २ चलिरहँदा नेपालले एकदिवसीय मान्यतासमेत गुमाउने अवस्था आएको थियो । त्यसवेला नेपाल शीर्ष पाँचभित्र समेत अटाउने स्थितिमा थिएन । तर, मोन्टीको आगमनसँगै नेपालले लगातार खेलमा जित मात्र निकालेन तेस्रो स्थान रक्षा गर्दै जिम्बावेमा भएको एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा समेत स्थान रक्षा गर्यो । 

योसँगै नेपालले एकदिवसीय मान्यता चार वर्षका लागि रक्षा गर्यो । सन् २०२३–०२७ सम्म चल्ने विश्वकप लिग २ मा नेपालले पुरानै फर्मलाई निरन्तरता दिन सकेको छैन । यतिवेला नेपाली टोली जितका लागि संघर्ष गरिरहेको छ । प्रशिक्षक मोन्टीको प्रशिक्षणमा नेपालले अहिलेसम्म एकदिवसीय फर्म्याटमा खराब लयमा गुज्रिरहेको छ । नेपालले लिग २ मा आफ्नो दोस्रो सिरिज क्यानडामा खेलिरहेको छ । नेपालले सात खेलमा केवल दुई अंक बटुलेको छ । नेपालले क्यानडामा तीन खेल नै गुमाइसक्यो । क्यानडासँग नेपाल दुवै खेलमा पराजित भयो । तुलनात्मक रूपमा कमजोर ओमानसँग नेपाल एक विकेटले पराजित भयो । 

आठ टोली सहभागी लिग २ मा नेपाल दुई अंकका साथ सातौँ स्थानमा छ । नेपालले अहिलेसम्म सात खेल खेलेको छ । जसमा ६ खेलमा हार सामना गरेको छ । गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले जित निकाली दमदार सुरुवात गर्यो । तर, घरेलु मैदानमा नेपालले त्यसपछिका खेलमा आफूअनुकूल नतिजा निकाल्न सकेन । अहिले लिग २ मा नेपाल लगातार पाँच खेलमा पराजित भएको छ । 

प्रशिक्षक मोन्टीले नेपाली टोली सम्हालेयता सबैभन्दा खराब प्रदर्शनको रूपमा रहेको छ । सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्किएको नेपालले यसबिच आइसिसी टी–२० विश्वकप खेल्यो । जसमा नेपालले नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशलाई नतिजा सुम्पिएको थियो । श्रीलंका र नेपालबिचको खेल वर्षाका कारण रद्द भयो । समग्रमा नेपालले एकदिवसीय र टी–२० मा गरी लगतार आठ खेलमा पराजित भएको छ । 

खेलाडी परिवर्तनको प्रभाव
क्यानडा प्रस्थान गर्नुअघि प्रशिक्षक देसाई कम्तीमा चार अंक हातप्रति विश्वस्त देखिन्थे । नेपालले आफ्नो दोस्रो सिरिजका लागि राम्रो तयारी गरेको थियो । नेपालले डेढ महिना भारतको बेंग्लोरमा प्रशिक्षण गर्न अवसर पाएको थियो । त्यसपछि नेपालले अन्तिम तयारी श्रीलंकाको कोलम्बोमा गरेको थियो । यी दुई विशेष प्रशिक्षण खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । मोन्टीले क्लोज क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्राथमिकतामा राखी टोली घोषणा गरे । 

तर, क्यानडामा देसाईका रणनीति काम गरेका छैनन् । उनले दोस्रो खेल देखि नै सिनियर खेलाडीलाई वेन्चमा राखी जोखिम उठाएर यूवाहरूलाई मौका दिए । तर, यूवा खेलाडीहरूले समेत प्रशिक्षकको रणनीतिलाई सार्थक बनाउन सकिरहेका छैनन् । एकदिवसीय फर्म्याटमा अनुभवी खेलाडी तथा ओपनर कुशल भुर्तेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा कुशल मल्ल दोस्रो खेलयता प्लेनिङ ११ मा छैनन् । देसाईले अनिल शाह र अर्जुन साउदलाई अवसर दिएका छन् । तर, उनीहरूले आफ्नो भूमिकालाई न्याय दिन सकेका छैनन् । नेपालको पुरानै रोग खराब ब्याटिङ हो । आवश्यक पर्ने खेलमा खेलाडी चल्न सक्दैनन् । अहिले क्यानडामा पनि यस्तै समस्याले नेपाली टोली ग्रसित छ । 

क्यानडा पाँच विकेटले विजयी
नेपाल सोमबार बिहान क्यानडासँग पाँच विकेटले पराजित भयो । पहिलो ब्याटिङ गरेको नेपाल पूरै ५० ओभर खेल्न सकेन । नेपाल ४६.१ ओभरमा एक सय ८१ रनमा अलआउट भयो । नेपालका लागि सर्वाधिक रन पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले दिएका थिए । एक रनले अर्धशतक बनाउन चुकेका सन्दीपले ४८ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४९ रन जोडे । सन्दीपले करण केसीसँग नवौँ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन बटुले । 

नेपालको इनिङ्समा गुल्सन झाले धैर्यतापूर्वक ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गरी ३४ रन जोडेका थिए । सोमपाल कामीले २१ रन बनाए । इनिङ्सको एक समय नेपाल ८७–७ को दयनीय अवस्थामा थियो । 

प्रत्युत्तरमा क्यानडाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा जित निकाल्यो । क्यानडाका लागि नभितले सर्वाधिक ८७ रन र प्रगत सिंहले ६४ रन जोडेका थिए । यी दुवैले दोस्रो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । 

ओमानविरुद्ध आज खेल्दै नेपाल 
नेपालले आफ्नो दोस्रो सिरिजको अन्तिम खेलमा ओमानको सामना मंगलबार गर्दै छ । लिगमा ओमान पाँच अंकका साथ छैटौँ स्थानमा छ । यसअघिको खेलमा ओमानले नेपाललाई एक विकेटले हराएको थियो । ओमानले नेपालविरुद्ध जितको लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । यता नेपालले कम्तीमा एक जितका साथ सिरिजमा दुई अंक बटुल्ने लक्ष्य राखेको छ । नेपालको कुनै पक्ष चलिनरहँदा ओमानको ब्याटिङ र बलिङ बलियो छ । 

सुझावित समाचार