भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरी मुद्दा चलाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको भ्रष्टाचारसम्बन्धी छानबिनमा हुन्डी कारोबार खुलेको थियो । अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको सिआइबीका एसपी होबीन्द्र बोगटीले बताए ।
उनका अनुसार एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ । सो पैसा उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतलगायतमार्फत कारोबार गरेका थिए । बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ ।
सुनील पौडेलविरुद्ध किर्ते मुद्दा
भ्रष्टाचार मुद्दामा कारागारमा रहेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध प्रहरीले किर्ते मुद्दा दायर गरेको छ । कर कार्यालयको कर चुक्तासम्बन्धी नक्कली कागजपत्र बनाएको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा शुक्रबार लिखत किर्ते मुद्दा दायर गरेको हो । पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् ।
भ्रष्टाचार मुद्दाकै अनुसन्धानको क्रममा उनको घरबाट नक्कली कागजपत्र भेटिएपछि त्यससम्बन्धी अनुसन्धान गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो । जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा अभियोग दायर गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनीविरुद्ध सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई मुद्दा दायर भएको हो । सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार सात रुपैयाँ जरिवानाको फैसला भएको थियो । मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ बमोजिम पछिल्लोपटक गरेको कसुरमा हुने सजायको दोब्बर सजायसमेत प्रहरीले मागदाबी लिएको छ ।