जिल्ला प्रहरी परिसर, काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर छाडिएको घटनामा इन्स्पेक्टरसहित तीन प्रहरीलाई कारबाही सिफारिस गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले सो विषयमा सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईविरुद्ध कारबाही गर्न सिफारिस भएको हो। समितिले एआइजी किरण बज्राचार्यलाई प्रतिवेदन बुझाएको हो।
हवल्दार खड्काले भदौको दोस्रो साता आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए। दुई दिन थुनामा राखेर उनलाई छाडिएको थियो। त्यसबिचमा आचार्यका परिवारले तेज तामाङ नामक व्यक्तिलाई ५० लाख रुपैयाँ बुझाएका थिए। प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो। आचार्यको परिवारबाट त्यसबारे जानकारी पाएपछि प्रहरीले आन्तरिक छानबिन गरेको हो।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार आशिष आचार्य र तेज तामाङ साथी हुन्। दुवैजना क्यानडामा सँगै बसेका थिए। तामाङ केही समयअघि नै नेपाल आएका हुन् भने आचार्य एक महिनाअघि आएका थिए। उनै तामाङले हवल्दार खड्कालाई सूचना दिई आचार्यलाई पक्राउ गर्न लगाएका थिए। पक्राउ परेपछि उनलै प्रहरीमा सेटिङ मिलाएर छुटाइदिने भन्दै पैसा असुलेका हुन्। त्यसरी लिएको ५० लाखमध्ये ३५ लाख उनको बैंक खातामा जम्मा भएको खुलेको छ। बाँकी १५ लाख प्रहरीलाई दिएको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन। पैसा बुझिसकेपछि पनि तामाङ र खड्काबिच पटक–पटक फोन सम्पर्क देखिएको छ।
पछि आचार्यलाई छाड्दा परिसरका इन्स्पेक्टर प्रतीक सिंहले ‘गुडफेथ’मा छाडिएको बताएका थिए। ५० लाख बुझाएर छुटेकोमा प्रहरीले ‘गुडफेथ’ भनेपछि आचार्यकी दिदीले यसबारे प्रहरीप्रति असन्तुष्टि व्यक्त गरी जवाफ मागेकी थिइन्। त्यसपछि छानबिन सुरु भएको हो।
इन्सपेक्टर सिंहको लेनदेनमा संलग्नता नदेखिए पनि चरम लापरबाही देखिएको छ। उनले हवल्दार खड्कालाई नै सबै जिम्मेवारी दिएर चलखेल गर्ने मौका दिएका हुन्। क्यानडामा क्रिप्टो कारोबार गरेकाले नेपालमा अनुसन्धान गर्न नपर्ने भन्दै उनले मुद्दा नचलाई छाडिदिएका थिए।
इन्स्पेक्टर सिंहलाई विभागीय कारबाहीको सिफारिस भएको छ। हवल्दार खड्का र जवान चपाई दुवै मिलेर पैसा असुल्ने योजना बनाएको खुलेको छ। जसअनुसार उनीहरूविरुद्ध भने मुद्दा नै चल्ने प्रहरी स्रोत बताउँछ। पक्राउ परेका आचार्य भने क्यानडा पुगिसकेका छन्। उनको बारेमा सूचना दिएर पक्राउ गराउने र पैसा असुल्ने तामाङ हाल फरार छन्।