तराईका जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिका कार्यालयले सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन बिदा दिएको छ।
गर्मीका कारण पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर असोज ७ र ९ गते बिदा दिएको महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ।
आज सोमबार नै पर्साको पोखरीया नगरपालिका– ४ स्थित जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका आठजना विद्यार्थी अत्यधिक गर्मीले बेहोस भएका थिए। अत्यधिक गर्मीका कारण कक्षा सात र कक्षा नाैका छात्राहरू कक्षाकोठामा बेहोस भएका शिक्षक अनिल गिरीले बताए।
बेहोस छात्राहरूलाई पोखरिया अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि छात्राहरूलाई घर पठाइएको विद्यालय प्रशासनले जनाएको छ।
यसैबिच पोखरिया नगरपालिका कार्यालयले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयहरूमा मंगलबारदेखि बिहानी सत्रमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले मौसमको अनुकूलताअनुसार मंगलबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सबैलाई जानकारी गराइएको बताए।