सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिकोत्सवको अवसरमा दुईवटा आकर्षक एवं नवीनतम बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘सन लाइफ मेडिकेयर’ र ‘सुनौलो बाल समृद्ध जीवन बिमा योजना’ सार्वजनिक गरेको हो ।
सुनौलो बाल समृद्ध जीवन बिमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको बताइएको छ । यसमा बिमा अवधिभित्र प्रस्तावकको निधन भएमा बिमांक रकम भुक्तानी हुनेछ र बिमितलाई बिमा अवधिसम्म बिमांक रकमको २ प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बिमा कम्पनीले व्यहोर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, ‘सन लाइफ मेडिकेयर’अन्तर्गत अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा बिमितले एक लाख रुपैयाँसम्म पाउनेछन् । यस्तो खालको बिमा योजना नेपालमै पहिलो भएको कम्पनीको दाबी छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रभातफेरी, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण, वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । त्यस्तै, कम्पनीमा स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई कदरपत्र प्रदान गरिएको बताइएको छ ।