काठमाडौंमा आज र भोलि राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौंमा राष्ट्रिय चलचित्र कन्फ्रेन्स आयोजना हुने भएको छ। राष्ट्रिय समाचार समिति (रासस)को सभाहलमा आज र भोलि दोस्रो राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुन लागेको हो। मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेकाे कन्फ्रेन्समा आठवटा कार्यपत्र प्रस्तुति, दुईवटा प्यानल डिस्कसन, एउटा किनोट स्पिच र अनुभव सेयरिङको कार्यक्रम तय गरिएको छ।

नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि यस्ता खालका कन्फ्रेन्स र चलचित्र महोत्सवहरू एक महत्त्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कन्फ्रेन्सको उद्घाटन सत्रमा वरिष्ठ फिल्म निर्देशक दीपेन्द्र गौचनकाे किनोट स्पिच रहनेछ ।

कन्फ्रेन्समा अनुप सुवेदीको ‘नेपाली फिल्ममा इरानी फिल्मको प्रभाव’, अरुणदेव जोशीको ‘विश्व सिनेमाको रुपान्तरण : एसिया तथा अन्य देशका उदीयमान सिनेमाको गुणस्तर, एक विवेचना’, डा. सचिन घिमिरेले पनि फिल्मको विषयमा बोल्नेछन्।

नवनिधि दाहालको ‘पाठ्यक्रम अवलोकन : त्रिविको बिए इन फिल्म स्टडिज’, डब्बु क्षेत्रीको ‘नेपालमा चलचित्र पत्रकारिता विगतदेखि वर्तमानसम्म’ र मनोज पण्डितको ‘पटकथाको दार्शनिक आयाम’ कार्यपत्रहरू प्रस्तुत हुनेछन्।

‘वैकल्पिक भाष्यको मूलप्रवाहीकरण : सामाजिक यथार्थवादको कसीमा जातीय अन्तर्वस्तु’ र ‘प्रस्तावित चलचित्र विधेयक २०८०’ माथि दुईवटा प्यानल छलफल  हुनेछन्। चलचित्र निर्देशक तुलसी घिमिरेले ‘इतिहासतिर फर्केर हेर्दा’ शीर्षकमा अनुभव सुनाउनेछन्। 

सुझावित समाचार