मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ।
ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर टान्सफर्मरहरू छन्। सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ।
प्राधिकरण र हिमालयन पावर पार्टनरबिचको विद्युत् खरिद–बिक्री सम्झौताबमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ। लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनलाई अब यही सबस्टेसनमा जोडिनेछ।
उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दी खोला जलविद्युत् र दोर्दी करिडोर प्रसारणलाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युतगृहको स्विचयार्डमा जोडिएको थियो। प्राधिकरणका अनुसार अब दोर्दी करिडोर प्रसारणलाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमर्स्याङ्दीको स्विचयार्डतर्फ विद्युत् प्रवाह गरिनेछ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारणलाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्नका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो। प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ। आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माणाधीन छ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ। यस प्याकेजको उदीपुर–मार्कीचोकखण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ। मार्कीचोक–भरतपुरखण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ।
बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए। आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारणलाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २२५ रुख कटान गर्नुपर्नेछ।
दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ। तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)–खुदी–उदीपुर ४६ किलोमिटर प्रसारणलाइन र दुईवटा सबस्टेसन निर्माणाधीन छन्। २२०/१३२/३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ। २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ। खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ। ६ वटा टावर खडा गरिएको छ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ।