एनआइएमबी एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ। हिल्टन काठमाडौंमा सम्पन्न कार्यक्रममा विभिन्न बैंक तथा बिमा कम्पनीहरूका प्रमुख कार्यकारी निर्देशकहरूसहित सरोकारवालाको उपस्थिति थियो।
नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित कार्यक्रमका सहभागीहरूले प्राइभेट इक्विटीका अवसरहरूबारे अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिँदै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको अवसरहरूलाई प्रस्ट्याए।
मोटिभेसनल स्पिकर अतुल सत्य कौशिकले ‘भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू’ शीर्षकमा मुख्य वक्तव्य दिँदै पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरूमा जोड दिए। एनआइएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषय र एनआइबिएल इक्विटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिस डेरिज, शिन्तामनी मुस्ताङ र फिक्कल टी एन्ड कफीजस्ता कम्पनीहरूमा गरेको लगानीको सफलताबारे प्रस्तुति दिए।
समापन मन्तव्यमा उपस्थित सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्विटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए। साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘आजको ज्ञान र अनुभव आदानप्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ।’