लमजुङको विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ। दुधपोखरी गाउँपालिका– २ अल्काचौरमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गरिएको हो। दुई वर्षअघि ०७८ सालदेखि १५ शय्याको अस्पताल निर्माण कार्य सुरु भएको तत्कालीन गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले बताइन्। तीन वर्षमा सक्ने लक्ष्य लिइए पनि दुई वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ।
संघ सरकारको १३ करोड लगानीमा नाै रोपनी जग्गामा अस्पताल निर्माण सुरु गरिएको थियो । अस्पताल बनाउन सबै जग्गा स्थानीयले स्वेच्छिक रूपमा दान गरेका वडा नम्बर २ का पूर्ववडाध्यक्ष गोविन्द दवाडीले बताए । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने दुधपोखरी गाउँपालिका जिल्लाकै विकट पालिका हो ।
नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक बिरामी भएमा सदरमुकाम बेँसीसहर, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा धाउनुपर्ने अवस्था छ । अस्पतालमा सेवा सुरु भएपछि दुधपोखरी गाउँपालिका र छिमेकी जिल्ला गोरखाको अजिरकोट गाउँपालिकाको गरी करिब १५ हजारजना लाभान्वित हुने दवाडीले बताए । अबको केही महिनाभित्रमा नै अस्पतालले सेवा दिन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताए । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत बनेको अस्पतालमा पाँचदेखि सातजनासम्म एमडीसहितका डाक्टरहरू रहने व्यवस्था छ । गाउँमै सुविधासम्पन्न अस्पताल बनेपछि सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय निकै खुसी भएका छन् ।
स्वास्थ्यलाई छिटोछरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ ।
अस्पताल भवन निर्माणका लागि हिम सगरमाथा र गौरीपार्वती कन्स्ट्रक्सनसँग गत असारमा सम्झौता भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार ६ सय ६९ रुपैयाँमा सम्झौता भएको अस्पताल भवन निर्माण कार्य गत कात्तिकबाट सुरु भएको थियो ।