आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गरिने उल्लेख गरेको थियो । केपी ओली नै त्यतिबेला प्रधानमन्त्री थिए । उनले बालुवाटारबाटै ६५७ आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।
दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु गरिएका आधारभूत अस्पतालमध्ये चार वर्ष बितिसक्दा ५५ वटा मात्रै निर्माण सम्पन्न भएका छन् । ०७७ मा निर्माण थालिएका ६५७ अस्पतालमध्ये हालसम्म आठवटा निर्माण सम्पन्न भएर स्थानीय तहमा सञ्चालनमा आएका छन् । ४७ वटा अस्पताल सञ्चालनको तयारी अवस्थामा छन् ।
गत आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २३० ले समेत एक सयवटा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो, तर घोषित लक्ष्यसमेत पूरा हुन सकेन । निर्माण सुरु गर्ने निर्णयसँगै देशभरका सबै स्थानीय तहमा बजेट पठाउन सुरु गरिए पनि हालसम्म न्यून संख्यामा मात्रै सेवा सुचारु गर्ने अवस्थामा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २८ साउन ०७७ को निर्णयबाट ३९६ र १२ पुस ०७७ निर्णयबाट २६१ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो ।
हालसम्म स्याङ्जाको आँधीखोला गाउँपालिका, कैलालीको बर्दगोरिया गाउँपालिका र दाङको राप्ती गाउँपालिकामा १५ शय्याका आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । यस्तै, धनकुटाको सहिदभूमि नगरपालिका, नुवाकोटको तारकेश्वर नगरपालिका, सिन्धुपाल्चोकको सुनकोशी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा १० शय्याको अस्पताल र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा पाँच शय्याको अस्पताल सञ्चालनमा आएको स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाले जनाएको छ । ‘धेरै स्थानमा अन्तिम चरणको बजेट गत आर्थिक वर्षमै पठाइसकिएको अवस्था छ । जसमध्ये धेरैजसो अस्पताल सञ्चालनमा आएको जानकारी आएको छ,’ महाशाखा प्रमुख डा. कृष्ण पौडेलले भने ।
१०९ अस्पताललाई उपकरण
निर्माण सम्पन्न भएका र सेवा सञ्चालनको तयारीमा रहेका १०९ आधारभूत अस्पताललाई उपचारात्मक सेवा सुचारु गर्न स्वास्थ्य उपकरण दिइएको छ । अस्पतालहरूको आवश्यकता मापन गरी पाँच शय्याका अस्पतालका लागि विभिन्न २६ वटा उपकरण, १० शय्याका लागि ३२ र १५ शय्याका लागि ४४ वटा उपकरण पठाइएको व्यवस्थापन महाशाखाले जनाएको छ । विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार पाँच शय्याका अस्पतालका १७ प्रकारका विभिन्न मेसिन पठाइएका छन् । जसमध्ये जनरल बेड पाँच थान, अक्सिजन सिलिन्डर तीन, स्टेथोक्सकोप, नेबुलाइजर डेलिभरी सेट दुई–दुई थान, अटोस्कोप, डेलिभरी बेड, फेटल डोप्लर, सक्सन मेसिन, इसिजी मेसिन, हट एयर ओभन, वाटर बाथ, सेन्ट्रिफ्युज मेसिन, माइक्रोस्कोप, प्यासेन्ट मोनिटर प्यारामिटर, ट्रान्सपोर्ट ट्रली र ह्विलचेयर एक–एक थान दिइएको छ । यस्तै, १० शय्याको अस्पतालका लागि १० वटा जनरल बेड, स्टेथोक्सकोप तीनवटा, डेलिभरी सेट र नेबुलाइजर दुई–दुई थान, डेलिभरी बेड, अटोस्कोप, फेटल डोप्लर, सक्सन मेसिन, इसिजी मेसिन, हट एयर ओभन, वाटर बाथ, सेन्ट्रिफ्युज मेसिन, माइक्रोस्कोप, प्यासेन्ट मोनिटर प्यारामिटर, ट्रान्सपोर्ट ट्रली र ह्विलचेयर एक–एक थान दिइएको छ ।
१५ शय्याको अस्पताललाई १५ वटा जनरल बेड, स्टेथोक्सकोप पाँच, डेलिभरी सेट र नेबुलाइजर दुई–दुई थान, डेलिभरी बेड, अटोस्कोप, सक्सन मेसिन, इसिजी मेसिन, हट एयर ओभन, वाटर बाथ, सेन्ट्रिफ्युज मेसिन, माइक्रोस्कोप र प्यासेन्ट मोनिटर एक–एक थान दिइएको हो ।
भवन निर्माणको काम सकेर सेवा सञ्चालनको तयारीमा रहेका अस्पताललाई आवश्यकता मापन गरेर उपकरणहरू पठाइएको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए । ‘निर्माण सकेर सबै प्रक्रिया पूरा गरेर आएका स्थानीय तहलाई मात्र उपकरण दिइरहेका छौँ । जनशक्ति उपलब्ध भएका र सप्लायर्ससँग समेत मर्मत गरिदिने गरी भएको त्रिपक्षीय सम्झौताअनुसार उपकरण वितरण गरिरहेका छौँ,’ उनले भने । यसअघि स्वास्थ्य सेवा विभाग, स्वास्थ्य संस्था र सप्लायर्स गरी त्रिपक्षीय सम्झौता गरेर मात्र स्वास्थ्य संस्थालाई उपकरण दिइने गरी गरिएको सम्झौताअनुसार आधारभूत अस्पतालमा वितरण भइरहेको छ ।
जनशक्तिबारे अन्योल
आधारभूत तहका अस्पतालहरू धमाधम निर्माण हुँदै गए पनि आवश्यक जनशक्तिको ओएनएमको तयारी हालसम्म पनि सुरु हुन सकेको छैन । सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शय्याका आधारभूत अस्पतालका लागि स्वीकृत गरेको नमुना संगठन संरचना र दरबन्दीअनुसार पाँच शय्याको अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहने व्यवस्था छ । १० शय्यामा दुईजना मेडिकल अधिकृतसहित २२ जना र १५ शय्यामा नौ वा दसौँ तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन् । स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका अनुसार ५, १० र १५ बेडका आधारभूत अस्पतालका लागि थप १७ हजार ४७० जनशक्ति र त्यसका लागि आठ अर्ब ७८ करोड ६९ लाख ७२ हजार रुपैयाँ आवश्यक पर्छ । आधारभूत अस्पतालमा हाल कार्यरत एक हजार ९३२ बाहेक पनि अरू थप १५ हजार ५३८ जना जनशक्ति आवश्यक पर्ने आकलन गरिएको छ । जसका लागि थप सात अर्ब ७० करोड ६३ लाख ३८ हजार रुपैयाँ चाहिन्छ ।
दुई हजार ६२६ वटा आधारभूत स्वास्थ्य केन्द्रका लागि १८ हजार ३३२ जना जनशक्ति आवश्यक छ । यसका लागि १० अर्ब २२ करोड ५७ लाख नौ हजार रुपैयाँ आवश्यक भएको उल्लेख छ । तर, दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको आधारभूत अस्पतालमा आवश्यक जनशक्तिको ओएनएमको तयारी भएकै छैन । महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार आधारभूत तहका अस्पतालहरूको निर्माण सम्पन्न हुन थालेको अवस्थामा स्वास्थ्यमा ठुलो संख्यामा जनशक्ति आवश्यक भएको र यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम अघि बढाएको बताए पनि हालसम्म जनशक्ति थप्ने विषयमा ठोस काम अघि बढ्न सकेको छैन । आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको प्रोटोटाइप मन्त्रालयले पठाउने भए पनि कति जनशक्ति राख्ने भन्ने विषय स्थानीय सरकारले नै निर्णय गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । प्रोटोटाइपअनुसार जनशक्तिका लागि आवश्यक तलब–भत्तासमेत संघीय सरकारले पठाउने भएकाले क्याबिनेटको निर्णयपछि काम अगाडि बढ्ने उनको भनाइ छ ।
३५ अर्ब विनियोजन, २५ अर्ब खर्च
निर्माण र स्तरोन्नतिका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर काम सुचारु गरिरहेका ६५७ आधारभूत अस्पतालमध्ये हाल ४२३ मात्र निर्माणाधीन अवस्थामा छन् । महाशाखाको तथ्यांकअनुसार ३९६ मध्ये ३२३ र २६१ मध्ये एक सयवटा अस्पताल निर्माणको चरणमा छन् । यसबाहेक स्तरोन्नतिका लागि छुट्टै निर्णय गरिएका गोपेटार स्वास्थ्य चौकी पाँचथर र दार्चुलाको व्यास गाउँपालिकामा रहेको अस्पतालसमेत निर्माणकै क्रममा छन् । अन्य स्थानीय तहमा जग्गा विवादलगायत कारण निर्माणको काम अगाडि बढ्न नसकको महाशाखाले जनाएको छ ।
‘०७७ साउनमा निर्माण थालिएका अस्पतालका लागि ५२ अर्ब रुपैयाँ स्रोत सुनिश्चित छ, निर्माण हुन नसकेकामा जग्गा र अन्य विवाद निकालिएको छ । तर, सोही वर्ष पुसको निर्णयअनुसार बन्ने भनिएका २६१ अस्पताल स्थानीय तहले आफ्नै स्रोतमा बनाइरहेका छन् । बाँकी अस्पताल निर्माणको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन,’ महाशाखा प्रमुख पौडेलले भने । अस्पताल बनाउन स्रोत सुनिश्चितताको टुंगो नलागेका कारण हाल निर्माणाधीनबाहेकका स्थानीय तहमा निर्माण सुरु गर्ने विषय आगामी बजेटले निर्धारण गर्ने उनको भनाइ छ ।
हाल निर्माण भइरहेकामध्ये पाँच शय्याका ७९, १० शय्याका १५३ र १५ शय्याका ४२५ आधारभूत अस्पताल छन् । जसका लागि पछिल्लो चार वर्षमा २५ अर्ब ७२ करोड १५ लाख २१ हजार रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । आधारभूत अस्पतालका लागि सरकारले ३५ अर्ब ७१ करोड एक लाख ८० हजार रुपैयाँ विनियोजन गरेको थियो ।