प्रधानमन्त्री केपी ओलीले राजतन्त्र पक्षधरहरूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल हुन नदिन माहोल खडा गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । राजधानीमा शनिबार आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले राजतन्त्रको पक्षमा बेसरम मानिसहरू उफ्रिएको बताए ।
‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा पनि यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ । राजतन्त्रै हुँदा पनि केही–केही पञ्च जम्मा हुन्थे र कराउँथे । त्यो एउटा औपचारिक कराइ थियो,’ ओलीले भने, ‘अहिले त्योभन्दा बढी पदधारी पनि होइनन्, वर्तमानमा केही पाएका पनि होइनन्, आशाधारीहरू कराइराखेका छन् । नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयास भइराखेका छन् । यसरी नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल हुनै नदिन एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ ।’
नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था र कानुनी शासन कायम गर्न नदिने तथा सुशासनको व्यवस्थित मार्ग समातेको देशका रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेको ओलीको भनाइ छ । ‘उनीहरूसँग कुनै सत्य र तथ्यको बाटो हुँदैन । उनीहरूसँग झुट, भ्रमको सहारा हुन्छ । षड्यन्त्र, तिकडमको सहारा हुन्छ । सत्य कुरालाई रोक्ने, असत्यलाई बढवा दिने बाटो उनीहरूको हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति यस्तो वेला आएको छ, जतिवेला उनीसँग दुईतिहाइको शक्ति छ । गत १० भदौमा गौरा पर्वमा सहभागी हुन टुँडिखेल पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध युवाहरूको नाराबाजी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउने प्रयासको चर्को विरोध, संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुख हटाउने प्रयासमा विपक्षीको अवरोध, सरकारविरुद्ध दुर्गा प्रसाईंको आन्दोलन, महानगरका मेयर बालेन्द्र शाहसँग नोकझोक र सरकारको कामलाई लिएर गठबन्धनकै दलका नेताहरूको असन्तुष्टिबिच प्रधानमन्त्री ओलीको पछिल्लो टिप्पणी आएको हो ।
शक्ति सन्तुलन एमालेअनुकूल नरहेको भन्दै मिसन ०८४ मा केन्द्रित हुन निर्देशन
एमाले अध्यक्ष ओलीले अहिलेको शक्ति सन्तुलन एमालेअनुकूल नरहेको भन्दै कार्यकर्तालाई मिसन ०८४ मा केन्द्रित हुन निर्देशन दिएका छन् । ‘शक्ति सन्तुलनको स्थिति अहिले एमालेको अनुकुलमा छैन । त्यसैले हामी राष्ट्रिय शक्ति हौँ, तर निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न सकेका छैनौँ भनेका छौँ । सधैँ एकैनासको स्थिति हुँदैन र अवसर पनि उत्तिकै आइरहँदैन,’ ओलीले भने, ‘यदि, तपाईंले जेठ–असारमा धान रोप्नुभएन, भदौतिर रोप्नुभयो भने गयो । पानी पनि हुँदैन, फल्दा पनि फल्दैन । मिसन ०८४ हाम्रो लागि यस्तो निर्णायक विन्दु हो । हामी सफलतातर्फ विजयको अघि बढ्यौँ भने केही निर्णय निकाल्छ, कि हामी अझ जटिल स्थितिमा फस्छौँ ।’
मिसन ०८४ मा एकल बहुमत ल्याउन सक्ने आधार रहेको उनले दाबी गरे । तर, उनले ती आधार के–के हुन् भन्ने खुलाएनन् । ‘म ती आधारबारे अहिले धेरै व्याख्या गर्न चाहन्न । हामीसँग बलिया आधार छन् । यतिवेलै हामीले आफ्नो सारा सामथ्र्य लगाउनुपर्छ । र, मिसन ०८४ लाई सफल पार्नुपर्छ,’ ओलीले भने, ‘आगामी निर्वाचनमा माओवादीको चार–पाँच लाख भोट आउला । राष्ट्रिय पार्टीसम्म अडिएला कि ! नौवटा पार्टी जन्मिए । भाँडाको भात छैन भनेर ती जन्मेका कचौराहरूले खाए होला नि त ? खानै जन्मेका हुन् ति । तिनका मुखमा चाहिँ कसरी गाँस पर् यो ? त्यसकारण हामी होसियार हुनुपर्छ ।’
कार्यकर्तामा आन्दोलनकारी प्रवृत्ति घटेको भन्दै ओलीले असन्तुष्टि जनाए । शिथिलता, उदासीनता, जिम्मेवारीबोधको कमी पार्टीको समस्या रहेको उनले बताए । ढुक्कको स्थितिमा कहिल्यै रहन नसक्ने उनले बताए ।
प्रधानमन्त्रीको आरोप कसलाई ?
प्रधानमन्त्री ओलीको अभिव्यक्ति यस्तो वेला आएको छ, जतिवेला उनीसँग दुईतिहाइको शक्ति छ । गत १० भदौमा गौरा पर्वमा सहभागी हुन टुँडिखेल पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध युवाहरूको नाराबाजी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउने प्रयासको चर्को विरोध, संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुख हटाउने प्रयासमा विपक्षीको अवरोध, सरकारविरुद्ध दुर्गा प्रसाईंको आन्दोलन, महानगरका मेयर बालेन्द्र शाहसँग नोकझोक र सरकारको कामलाई लिएर गठबन्धनकै दलका नेताहरूको असन्तुष्टिबिच प्रधानमन्त्री ओलीको पछिल्लो टिप्पणी आएको छ ।
बालेनलाई ‘मनपरी बोल्ने केटो’को संज्ञा
ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘मनपरी बोल्ने केटो’को संज्ञा दिएका छन् । ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ । त्यसलाई चलाउन हुँदैन है, त्योसँग जनमत छ भनिन्छ । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचार स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भने ।