‘हिंसा’ शब्द नसच्चिएसम्म संसद् बैठक चल्न दिदैनौँ : प्रचण्ड

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद्को अवरोध कायमै रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनताका लागि भएको परिवर्तनको सशस्त्र लडाइँलाई सत्ताधारी दल एमालेले ‘हिंसा’ भनेर भ्रम छरिरहेकोले त्यो विषय नसच्चिएसम्म संसदमा माओवादी केन्द्रको अवरोध कायमै रहने बताएका हुन्।   

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका अध्यक्षसमेत रहेका प्रचण्डले भने,  ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंश र अपव्याख्या गरेर भ्रम छर्ने काम गरिररहेका छन्, त्यो विषयको सम्बोधन नभएसम्म संसदमा हाम्रो विरोध जारी रहन्छ।’ यसैगरी, प्रचण्डले सत्ताधारी दलहरू कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट पछि हट्न सक्ने बताए।  

उपसभामुख इन्दिरा राना एउटा इमानदार, जनजाति महिला, बालबच्चाको सेवाका लागि प्रसिद्ध भइसकेको व्यक्ति भएको र जानेर गल्ती पनि नगरेकोले उनलाई हटाउने कुराबाट सत्ताधारी दल एमाले र कांग्रेस पनि पछि हट्न सक्ने बताएका हुन्। प्रचण्डले उपसभामुखबारे आफ्नो धारणा प्रस्तुत गर्दै भने, ‘उहाँबाट प्राविधिक कुरा नजानेर त्रुटि भएको हो, त्यसैलाई लिएर पदबाटै हटाउनेसम्म जानुहुँदैन भन्नेमा हामी दृढ छौँ र सायद कांग्रेस एमाले पनि पछि हट्छ जस्तो लाग्छ।’  

प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको सिफारिसका लागि योग्य ८ जनाको नाम सिफारिस भएको बताउँदै  सिनियारिटीलाई तोड्नुपर्छ भनेर आफूहरूले नभनेको प्रस्ट पारे। उनले रिक्त रहेका संवैधानिक पदहरूमा एकैपटक नियुक्त गर्नु राम्रो हुन्छ भन्ने पक्षमा आफूहरू रहेको र सबै रिक्त संवैधानिक आयोगहरूमा पदाधिकारीहरू पूर्ति हुने बताए।  
 

See More On

सुझावित समाचार