बिहीबारदेखि अविरल रूपमा परेको वर्षाले चुरे भएर बग्ने बनहरा नदी बादी टोलमा पसेको छ। बनहरा नदीले कृष्णपुर नगरपालिका २ बंक, प्रगति टोलको बादी बस्तीमा कटान गरिरहेको छ।नदीले धार परिर्वतन गरेर बादी बस्तीतिरै कटान गरिरहेको छ। बनहरा नदी विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीमा पानीको सतह वृद्धि भएपछि बादी बस्तीमा कटानी गरिरहेको बताए। उनका अनुसार उत्तर-दक्षिणको पश्चिम भएर बग्ने बनहरा नदी अहिले धार परिर्वतन गरेर पूर्व बादी बस्तीतिर आएर कटान गरिरहेको बताए।
‘नदीले धार परिर्वतन गरेपछि अहिले बादी टोलमा कटान गरेको छ, झन्डै दुई सय मिटर सडकसहित केही स्थानीयका जमिन कटान सुरु गरेको छ, ‘उनले भने, ‘यस्तै अवस्था रहे सिंगो बादी बस्तीको गाउँदेखि आसपासका गुन्यालफाँटा, बंकसहितको गाउँबस्ती कटानको उच्च जोखिममा पर्नेछन्।’ उक्त स्थानमा कटान रोक्नका लागि पटक-पटक स्थानीय, प्रदेश र संघीय सरकारलाई माग गर्दासमेत कुनै सुनुवाइ नभएको उनको गुनासो छ।
बादी बस्तीकी रमितादेवी बाढीले सरकारले नै बसालेको बस्तीमा आज विपद् आएर उठिबास हुने खतरा भएको दुखेसो पोखिन्। ‘चुनावका वेला नेताहरूले तटबन्ध निर्माण गरेर बस्ती जोगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै पनि तटबन्ध निर्माण नहुँदा नदीले कमलो माटो पाएर गाउँतिरै कटान गरिरहेको छ, ‘उनले भनिन्, ‘अहिले सडकसहित हाम्रा खेत कटान गरिरहेको छ, केही दिनमै घरनजिकै नदीको कटानीले बगर बन्ने खतरा छ।’
कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुनसिंह साउदले बनहरा नदीको कटान रोक्नका लागि वडासँग पर्र्याप्त बजेट नहुँदा नियन्त्रणमा समस्या भएको बताए। ‘हामीसँग यति ठुलो बजेट हुँदैन, हाम्रो बजेटले सानो परिमाणमा पनि तटबन्ध निर्माण हुँदैन,' उनले भने, ‘पालिका, प्रदेश र संघीय सरकारले यहाँ गुरुयोजना बनाएर अघि बढ्नुपर्छ।’ बनहरा नदीको ‘हेड टू टेल’को गुरुयोजना बनाएर बस्ती जोगाउनुपर्ने वडाध्यक्ष साउदले बताए।
वडाध्यक्ष साउदले वडाले अहिले अस्थायी रूपमा तटबन्ध निर्माण गरिरहेको बताउँदै, स्थायी रूपमा बनाउनुपर्ने बताए। यसपटक दुई दिन लगातार आएको वर्षातले कञ्चनपुरका साना तथा ठुला नदीनालाहरूमा आएको बाढीले कटान, पटानी, डुबान गरिरहेको छ।