अविरल वर्षाले राप्ती राजमार्ग र दाङ-सुर्खेत सडक अवरुद्ध

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

गएरातिदेखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ-सुर्खेत सडक  पूर्ण रूपमा अवरुद्ध भएको छ। राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत  तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकमाथिबाट ठूलो पहिरो गएको र जेसिबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। 

यस्तै, दाङ-सुर्खेत सडकखण्डअन्तर्गत सल्यानको कालीमाटी गाउँपालिका– ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको खत्रीको भनाइ छ ।

निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबी ल्याउन नै समस्या रहेका उनको भनाइ छ। खहरे खोला घटेपछि मात्र जेसिबी जान सक्ने खत्रीले बताए। 

सुझावित समाचार