स्थानीय सरकारको जिम्मेवारी र दक्षता विकास

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

आवश्यक संस्थागत सक्षमता विकास हुन नसक्दा संविधानप्रदत्त जिम्मेवारी स्थानीय तहका लागि भारी भएको देखिन्छ

नेपालको संविधानले तीन तहको शासकीय संरचना व्यवस्था गरी तीनै तहका अधिकार र जिम्मेवारी बाँडफाँड गरेको छ । संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय सरकारका एकल अधिकार र अनुसूची ९ मा उल्लिखित साझा अधिकारअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवा प्रवाहदेखि विपत् व्यवस्थापन र आर्थिक विकासजस्ता जटिल विषयसमेत समेटिएका छन् । एकल अधिकारअन्तर्गत २२ वटा अधिकार सूचीकृत छन्, जसमा कृषिदेखि सहकारी, भूमिदेखि बजार व्यवस्थापन, आधारभूत सेवादेखि संस्कृति संरक्षण र कर संकलनदेखि तथ्यांक व्यवस्थापनसम्मका विषय छन् । त्यसैगरी साझा अधिकारअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन, खानी तथा खनिज, सामाजिक सुरक्षा, गरिबी निवारण, पर्यावरण र जैविक विविधताजस्ता अन्तरसम्बन्धित विषय समाविष्ट छन् । हेर्दा सामान्य लागे तापनि अनुसूचीमा उल्लिखित विषय बहुआयामिक र जटिल त छन् नै, नागरिकको दैनन्दिनीलाई प्रत्यक्ष असर गर्नेदेखि दिगो र गुणस्तरीय जीवनलाई समेत प्रभावित गर्ने भएकाले स्थानीय तहलाई प्रदत्त संवैधानिक अधिकार र जिम्मेवारी संवेदनशील देखिन्छन् । संवैधानिक अधिकारले सिर्जना गरेको जिम्मेवारी पूरा गर्न स्थानीय तहले देखाएको तत्परता, क्रियाशीलता र जिम्मेवार भूमिका प्रशंसनीय पनि छ । यद्यपि कमजोर संरचना, अपर्याप्त स्रोत–साधन, प्रणालीप्रतिको अविश्वास र परम्परागत शासकीय व्यवहारका कारण स्थानीय तहलाई संवैधानिक जिम्मेवारी निर्वाह गर्न कठिन भइरहेको देखिन्छ । एकातिर नागरिक अपेक्षाको तत्काल सम्बोधन गर्नुपर्ने र अर्कातिर दोहोरो उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले स्थानीय सरकार दबाबमा छन् । तर, यसका लागि आवश्यक संस्थागत सक्षमता विकास हुन नसक्दा संविधानप्रदत्त जिम्मेवारी स्थानीय तहका लागि भारी भएको देखिन्छ ।

संवैधानिक अधिकारको अभ्यास स्थानीय तहका लागि भारी हुनुका खास कारण छन् । संविधानले व्यवस्था गरेको स्थानीय तहको अधिकारको सूचीको विस्तृत र स्पष्ट व्याख्या नभएका कारण स्थानीय तह अलमलमा छन् । विद्यमान कार्य विस्तृतीकरण प्रतिवेदनले अधिकार बाँडफाँडलाई व्याख्या गर्ने प्रयास गरेको भए पनि कतिपय जिम्मेवारी र जवाफदेहिता स्पष्ट व्याख्या गर्न सकेको छैन । एकातिर कार्य–विस्तृतीकरणको प्रयोगलाई फराकिलो बनाउन सकिएको छैन भने अर्कातिर यस प्रतिवेदनको कानुनी वैधतामा समेत प्रश्न उठ्ने गरेको छ । कतिपय अधिकार दोहोरिएका छन् र दोहोरिएका अधिकारको सीमांकन हुन सकेको छैन । संघीयता कार्यान्वयनपश्चात् प्रदेश र स्थानीय तहबाट बनेका कानुनले कार्य–विस्तृतीकरण र संविधानले गरेका प्रावधानको हुबहु अनुसरण नगरेका कारण स्थानीय सरकार कार्य सम्पादनमा अलमलमा छन् । एउटै विषय साझा अधिकार क्षेत्रमा परेका कारण सबैका आआफ्नै बुझाइ र व्याख्याले पनि स्थानीय सरकारलाई थप अन्योल र अलमलमा पारेको छ । अधिकार बाँडफाँडका विषयमा समान बुझाइ नहुँदा स्थानीय सरकारलाई आफ्नो अधिकार र जिम्मवारीको अभ्यासमा समस्या सिर्जना भएको छ ।

अर्को कारण भनेको दक्षता विकासप्रतिको बेवास्ता हो । स्थानीय सरकारको वार्षिक बजेट तथा कार्यक्रम हेर्दा आफ्नो दक्षता विकासमा स्थानीय सरकार स्वयंको चासो नरहेको स्पष्ट हुन्छ । प्रभावकारी जिम्मेवारी निर्वाहका लागि दक्षता अनिवार्य हुन्छ, तर स्थानीय सरकार आफ्नो संस्थागत दक्षता विकासका विषयमा संवेदनशील देखिँदैनन् । बरु आफ्नो दक्षताको पर्याप्त विश्लेषणविनै उच्च महत्वाकांक्षा बोकेर हिँडेका छन् । आन्तरिक राजस्वको दायरा साँघुरो छ, अपर्याप्त जनशक्ति छ, व्यवस्थापकीय दक्षता कमजोर छ, नीति र कानुनी सहजीकरणको अभाव छ, तथापि स्थानीय तहले आफ्नो दायराबाहिरका विषयमा समेत हात हालेका छन् । जनतासँग सीधा र प्रत्यक्ष सम्पर्क हुने भएकाले जनअपेक्षा सम्बोधनको पहिलो दायित्व स्थानीय सरकारलाई छ, तर यसको बुद्धिमतापूर्ण सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियताका लागि स्थानीय सरकारले संघ र प्रदेश सरकारको जिम्मेवारी निर्वाहमा समेत आफूलाई उभ्याउने गरेका छन् । झट्ट हेर्दा यो सकारात्मक देखिए पनि दीर्घकालीन रूपमा यसले स्थानीय तहको दायित्व बढाएको छ, आफ्नो जिम्मेवारी निर्वाहमा निपूणता घटाएको छ र स्थानीय तहका जिम्मेवारी र जवाफदेहिता ओझेलमा परेका छन् । आर्थिक दक्षता र अपेक्षाबिच तालमेल गर्न नसकेका कारण स्थानीय तहलाई वित्तीय भारसमेत निरन्तर बढ्दै गएको छ । संघ र प्रदेश सरकार स्थानीय सरकारको क्षमता विकासमा ध्यान केन्द्रित गर्नुभन्दा ससर्त अनुदानमार्फत आफ्ना कार्यक्रम कार्यान्वयन एकाइ बनाउने दिशातिर केन्द्रित छन् । आफ्नो दक्षताभन्दा महŒवाकांक्षालाई जोड दिनुका साथै प्रदेश र संघका ससर्त अनुदानअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भएकाले पनि स्थानीय तहमा कार्यबोझ बढ्दो छ । स्थानीय सरकारको बर्सेनि बढ्दो बेरुजु र भ्रष्टाचार मुद्दा पनि संस्थागत सक्षमताको अभावका उदाहरण हुन् ।

कमजोर अन्तर–सरकार समन्वय र सहकार्यले गर्दा पनि स्थानीय सरकारका लागि संवैधानिक जिम्मेवारी भारी महसुस भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइजस्ता आधारभूत सेवादेखि विकास निर्माण र विपत् व्यवस्थापनजस्ता संविधान प्रदत्त अधिकांश अधिकारको प्रयोग स्थानीय सरकारले एक्लै गर्न सक्ने भए पनि प्रभावकारी र दिगो प्रयोगका लागि अन्तरसरकार समन्वय जरुरी छ । कानुन तथा नीति तर्जुमा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको गुणस्तरियता र सर्वसुलभताजस्ता विषय स्थानीय सरकारको विद्यमान क्षमताबाट हासिल हुन सक्दैन । यसका लागि ठाडो र समानान्तर अन्तरसरकारी समन्वय अत्यावश्यक छ, जुन अभ्यासमा निकै कमजोर छ । अन्तरसरकार समन्वयका लागि व्यवस्था गरिएका कानुनी संरचनाले अन्तरसरकारी समन्वयको विषयलाई महŒव नदिएको र जिल्ला समन्वय समितिले समेत आफ्नो तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेका कारण अन्तर–सरकार समन्वय र सहकार्य छायामा परेको छ । यस्तो प्रवृत्ति र अभ्यासले अन्तरसरकार सहकारितामा आधारित संघीयतालाई सबलीकरण गर्न सक्दैन । संविधानले तिनै तहका सरकारको समन्वय र सहकार्यमा जोड दिएको भए पनि तीनै तहका सरकारको ठाडो र समानान्तर कार्यात्मक सम्बन्धमा उल्लेख्य उपलब्धि हाँसिल हुन नसक्दा जिम्मेवारी निर्वाहमा दोषारोपण गर्ने प्रवृत्ति बढेको छ । यसबाट द्वन्द्वको बीजारोपण पनि हुन सक्छ । यसो हुनुमा स्थानीय सरकारका आन्तरिक कारण पनि जिम्मेवार छन्, तर संघ र प्रदेश सरकारले समेत समन्वयलाई प्राथमिकतामा नदिनु पनि प्रमुख कारण हो । परिणामस्वरूप सेवा प्रवाह र विकास प्रशासनमा तीनै तहका सरकार एकीकृत रूपमा उपस्थित हुन सकेका छैनन् । सिद्धान्तको व्याख्यामा निपूण तर अभ्यासमा कमजोर राजनीति र व्यवस्थापकीय कौशलमा कमजोर प्रशासनबिचको अन्तरसम्बन्ध र अविश्वासका कारण स्थानीय सरकारले अपेक्षाकृत उपस्थिति देखाउन सकेका छैनन । जसका कारण काममा दोहोरोपना, जिम्मेवारी पन्छाउने प्रवृत्ति र अनुत्तरदायी शासकीय व्यवहारबाट सुशासन प्रभावित भएको छ । परम्परागत शासकीय शैली, कमजोर सेवा प्रवाह र उच्च महाŒवाकांक्षाका कारण नागरिक र सरकारबिचको अविश्वास बढ्दै गएमा यसले विद्यमान प्रणालीमै प्रभाव पर्न सक्ने जोखिम पनि छ ।

विकास निर्माण, सेवा प्रवाह र सुशासनका विषयमा नागरिकले स्थानीय सरकारसँग सीधै प्रश्न सोध्ने गरेका छन् । नागरिकले स्थानीय सरकारसँग प्रत्यक्ष जवाफदेहिता खोजेका छन् र नागरिकलाई जवाफ दिनु स्थानीय सरकारको दायित्व पनि हो । यद्यपि, आधारभूत सेवा प्रवाहका लागि समेत आवश्यक न्यूनतम पूर्वाधार र जनशक्ति अभावका कारण धेरैजसो स्थानीय सरकारको संवैधानिक अधिकार र जिम्मेवारीको भारवहन क्षमता क्रमशः ह्रास हुँदै गएको छ । कतिपय स्थानीय सरकारले आफ्नो वडा कार्यालयको भौतिक संरचनासमेत व्यवस्थापन गर्न सकेका छैनन् । धेरैजसो स्थानीय तहमा जनशक्ति अभाव छ, भएका जनशक्तिको सीप र दक्षता विकास गर्न सकिएको छैन । संघीय सरकार विद्युतीय शासनमा जोड दिन्छ, तर स्थानीय सरकार भने सूचनाको पहुँचबाटै टाढा छन् । आर्थिक स्रोतका लागि फेरि पनि संघीय राजधानी आउने नियति जस्ताको तस्तै छ । स्थानीय सरकारको राजनीतिक नेतृत्वको क्षमता विकासमा ध्यान दिइएको छैन । यस्तो अवस्थामा स्थानीय सरकारले प्रवाह गर्ने सेवा–प्रवाहको गुणस्तर बढ्न सक्दैन, बरु यसबाट नागरिक र सरकारबिचको अविश्वास र दूरी बढ्ने सम्भावना रहन्छ । आफ्नै जिम्मेवारी निर्वाहमा अक्षम स्थानीय सरकारलाई संघ र प्रदेश सरकारले आफ्नो कार्यक्रम कार्यान्वयन एकाइका रूपमा ससर्त अनुदानमार्फत कार्यक्रम पठाउने गरेका छन् । ससर्त अनुदानअन्तर्गतका कार्यक्रमको पूर्ण जानकारी नहुनु, कार्यक्रमसँग सम्बन्धित जनशक्ति उपलब्ध नहुनुजस्ता समस्याका साथै आफ्नो सक्षमताको पर्याप्त विश्लेषण नगरी स्थानीय सरकारले त्यस्ता कार्यक्रम स्विकारेर जिम्मेवारीको फैलावटमा ध्यान केन्द्रित गरेका छन् । आफ्नो स्रोतको अभाव देखाई आफ्नो जिम्मेवारी पन्छाउने, तर ससर्त अनुदानका कार्यक्रमको कार्यान्वयनमा बढी चासो राख्ने प्रवृत्तिले संघीयताको सबलीकरणमा सकारात्मक योगदान गर्न सक्दैन ।

आफूले बनाएका कानुन, नीति र योजनाको गुणस्तर परीक्षण र तिनको दीर्घकालीन प्रभावको विश्लेषण गर्न सक्ने क्षमता स्थानीय तह स्वयंको हुनुपर्छ । आफ्नो अधिकार प्रयोगका लागि स्थानीय सरकार आर्थिक, सामाजिक र सांस्कृतिक रूपले सबल हुनुपर्छ । जिम्मेवारी निर्वाहका लागि आवश्यक आधारभूत स्रोतको सुनिश्चितता स्वयंले गर्न सक्नुपर्छ । आफ्ना योजना कार्यान्वयनका लागि आवश्यक न्यूनतम व्यवस्थापकीय संरचना र विश्वसनीय प्रणाली भए मात्र प्राप्त जिम्मेवारी निर्वाह सहज हुन सक्छ । 

संघीय शासन प्रणालीमा कुनै एउटा सरकारको असफलता उसको मात्र हुँदैन । अरू सरकारमा पनि यसको प्रभाव उत्तिकै पर्छ । संघीय शासन प्रणालीको सफलता यसको सबलीकरणमै निर्भर भएको र स्थानीय सरकारको दक्षता विकासमार्फत संघीयता सबलीकरण गर्न सकिने यथार्थलाई आत्मसात् गरी स्थानीय सरकारको दक्षता विकासमा पर्याप्त लगानी जरुरी छ । कार्यविस्तृतीकरण परिमार्जनमार्फत जिम्मेवारीलाई थप स्पष्ट पार्ने र सो जिम्मेवारीका आधारमा स्थानीय सरकारको क्षमता विकासको राष्ट्रिय ढाँचा विकास गर्नु अत्यावश्यक छ । उक्त ढाँचाको अधीनमा रही संघ र प्रदेशले स्थानीय सरकारको दक्षता विकाससम्बन्धी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । दक्ष स्थानीय सरकारले मात्र विद्यमान जिम्मेवारी पूरा गर्न सक्छन् । निरन्तर सिकाइ, अनुभवको आदानप्रदान, आन्तरिक स्रोतको परिचालन, बहुसीपयुक्त कर्मचारी, अनुकूलित र गतिशील राजनीतिक नेतृत्व, सहयोगी पर्यावरण र स्वचालित प्रणालीको विकासमार्फत स्थानीय तहको संस्थागत सक्षमता विकास गर्न सकिन्छ । 

उल्लिखित अवस्थालाई गम्भीरतापूर्वक लिई संघ र प्रदेश सरकारले स्थानीय सरकारको दक्षता विकास गर्नेतर्फ तत्काल अग्रसर हुनुपर्छ । स्थानीय सरकारले नागरिकसँगको निकट सम्बन्ध राखेर तत्काल उपस्थिति देखाउन सक्ने भएकाले यिनको दक्षता विकास सबैको प्राथमिकतामा पर्नुपर्छ । स्थानीय सरकारमा हुने दक्षताको उपस्थितिले निराशालाई चिर्न, सकारात्मक आशा जगाउन र अन्तर–सरकार सम्बन्ध सुदृढ पार्नुका साथै सुशासन कायम गर्नमा समेत सहयोग पुग्छ । तसर्थ, जिम्मेवारी र दक्षताको विद्यमान अन्तरलाई ध्यान दिई प्रदेश र संघ सरकारले पारस्परिक सहकार्यमार्फत स्थानीय सरकारको संस्थागत संरचना र प्रणाली विकासमा पहलकदमी लिन ढिला गर्नुहुँदैन । अन्यथा कालान्तरमा जिम्मेवारीको भारीले स्थानीय सरकार आफैँ थिचिने अवस्था नआउला भन्न सकिन्न ।

(डा. रेग्मी नेपाल सरकारका सहसचिव हुन्) 

सुझावित समाचार