कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसबाट एक किशोरको मृत्यु भएको छ। इन्सेफ्लाइटिसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका रामसहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारूको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरस्थित एक निजी विद्यालयमा अध्ययनरत गुरुको काठमाडाैंस्थित न्युरो अस्पतालमा उपचारका क्रममा १० दिनअघि मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायणप्रसाद चौधरीले बताए। उच्च ज्वरो आएर बेहोस अवस्थामा पुगेपछि १५ दिनअघि गुरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ १३ दिन उपचार गरे पनि सुधार नआएपछि थप उपचारका लागि न्युरो अस्पताल काठमाडौं लगिएको र लगेको ३ दिनपछि छोराको मृत्यु भएको बुवा रामसहायले बताए।
जिल्लामा चालू आर्थिक वर्षभित्र जापानिज इन्सेफ्लाइटिसका ५ संक्रमित भेटिएको बताइएको छ। शुद्धोदन गाउँपालिकामा ३ वर्षीया बालिका, मायादेवी गाउँपालिकामा ३ वर्षीय बालक, कृष्णनगर नगरपालिकामा १५ वर्षीय किशोर र कपिलवस्तु नगरपालिकामा ५ वर्षीय बालकमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। पाँचमध्ये एकजनाको मृत्यु भएको हो।