गत माघमा सम्पन्न २३औँ संस्करणको आहा – रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १५ लाख ५६ हजार ६६५ रुपैयाँ घाटामा गएको छ। आयोजक सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनबाट घाटा भएको जानकारी दिएको हो।
८ देखि २० माघ २०८० सम्म सञ्चालन भएको प्रतियोगिताको मुख्य प्रायोजक आहा तथा रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुड्स प्रालिले २२ लाख २५ हजार तथा अन्य प्रायोजक, विभिन्न दाताहरू, ब्यानर, टिकट बिक्रीलगायतबाट ९९ लाख ८५ हजार ४५१ रुपैयाँ आम्दानी भएको थियो। तर, एक करोड १५ लाख ४२ हजार ११७ रुपैयाँ खर्च भएको क्लबकी कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिकी सहसंयोजक बिनु रानामगरले जानकारी दिइन्।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरको रूपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित्ने क्रममा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
आर्थिक मन्दीका कारण विगतका वर्षमा जस्तो सहयोग गर्ने दाताहरू कम भएका कारण नोक्सानी व्यहोर्नुपरेको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए। यसअघि नियमित सहयोग गर्दै आएकाहरूबाट सो संस्करणमा सहयोग नपाएको र राखेपले दिँदै आएको सहयोगसमेत यसपटक नआएको उनले बताए।