पाँच वर्षदेखि टिप्ताला नाका बन्द भएर चीनको तिब्बततिर कुनै पनि सामग्री निर्यात गर्न नपाएका ओलाङचुङगाेलाका बासिन्दा नाका खुलेपछि जडीबुटी संकलन गर्न गाउँ नै रित्तै बनाएर जंगल पसेका छन्। आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको जडीबुटी, गलैँचा, छुर्पीसहित अन्य कुनै सामग्रीहरू पाँच वर्षदेखि चीन निर्यात गर्न पाएका थिएन्।
टिप्ताला नाका खुलेपछि फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलावासी कुड्की खोज्न जंगल पसेका हुन्। त्यहाँस्थित टिप्ताला सामुदायिक वन उपभोक्ता समितिले एक महिनाका लागि कुड्की संकलन खुला गरेको छ। कुड्की संकलन खुला भएपछि खाने–बस्नेलगायतका सामानसहित कुड्की निकाल्न कुटो, कोदालो बोकेर स्थानीय जंगल पसेका हुन्। ओलाङचुङगोला बस्तीदेखि धेरै माथि हिउँले ढाकिरहने क्षेत्रमा मात्र कुड्की पाइन्छ।
सामुदायिक वन उपभोक्ता समितिका अनुसार गाउँलेहरू चार–पाँच वर्षदेखि जंगल पस्न पाएका थिएनन्। यो वर्ष सामुदायिक वनले कुड्की संकलन खुलाएको छ। तर, बजार मूल्य भने प्रतिकिलो सय रुपैयाँ मात्रै रहेको स्थानीयहरू बताउँछन्। कोरोना संक्रमण अघिसम्म यसको मूल्य तीन सय रुपैयाँ रहेको थियो। अहिले कुड्की पनि प्रशस्त नभएको बताइएको छ।
स्थानीयवासीका अनुसार कुड्की निकाल्दानिकाल्दै बिक्री गर्न राम्रो मानिन्छ। संकलन गरेर घरमा ल्याएर राख्नुपरे सुकेर ५० प्रतिशतभन्दा धेरै तौल घट्छ। यसरी घटेपछि बिक्री गर्दा फाइदा नहुने स्थानीयको भनाइ छ। ‘पहिला चिनियाँ व्यापारी टिप्दाटिप्दै जंगलमै आइपुग्थे र लैजान्थे,’ ओलाङचुङगाेलाका नुपु शेर्पाले भने, ‘यो वर्ष लाने कुरा गरेको छैन।’
व्यापारीले लाने आशामा गाउँभरिका सबै मान्छे कुड्की संकलन गर्न गएका उनले बताए। ‘गाउँमा बुढापाकाबाहेक सबै जंगलतिर छन्। तर, पैसाचाहिँ कत्तिको साट्न पाइन्छ अन्योल नै छ।’
३५ सयदेखि पाँच हजार मिटरसम्मकाे उचाइमा पाइने यो जडीबुटी भुइँभित्रबाट खनेर निकाल्नपर्ने हुन्छ। चार हजारदेखि ४५ सय मिटर क्षेत्रमा राम्रो कुड्की पाइने बताइन्छ। नेपाल सरकारले हिमाली क्षेत्रमा पाइने ३० महत्त्वपूर्ण र अनुसन्धान गर्नुपर्ने जडीबुटीको सूचीमा कुड्कीलाई राखेको छ। हिमाली क्षेत्रमा पाइने चिराइतो, यार्सागुम्बा, कुड्कीलगायतका जडीबुटी औषधीय निर्माणका लागि विदेश निर्यात हुने गरेको छ।
कुड्की नेपालसहित भारत, चीन, भुटान, पाकिस्तानमा पनि पाइन्छ। चीनसँगको नाका खुलेपछि थोरै मात्रामा चिराइतो र पहिलेको केही कुड्की निर्यात भए पनि अहिले बिक्री नभएको बताइन्छ। एकजनाले दैनिक १० देखि १५ किलोसम्म कुड्की संकलन गर्न सक्ने स्थानीयवासीको भनाइ छ।
उता, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र फेम्बोले कार्यविधिअनुसार सामुदायिक वनले आफैँ जडीबुटी संकलन गर्ने अधिकार भए पनि बेचबिखनका लागि भने संरक्षण क्षेत्रबाट छुट पुर्जी लिएर मात्र पाइने बताए। संकलन भएको जानकारी आएपछि संकलन गर्ने उपयुक्त थियो कि थिएन प्राविधिकबाट सबै चेकजाँच हुने र अनि मात्र बेचबिखन गर्न पाइने उनले जानकारी दिए।