प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा उनले प्रतिष्ठान निर्माणको घोषणा गरेका हुन् ।
ओलीले नेम्वाङको स्मृति ताजा राख्न र आदर्श पछ्याउन प्रतिष्ठानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । आगामी सचिवालय बैठकले प्रतिष्ठानबारे निर्णय गर्ने जानकारी पनि उनले दिए । ‘स्मृतिलाई ताजै राख्नका लागि र उहाँका आदर्शलाई पछ्याएर केही काम गरिरहनका लागि सुवासचन्द्रजीका नाउँमा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ भन्ने घोषणा गर्न चाहन्छु,’ उनले भने ।
नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने ओलीको भनाइ थियो । ‘प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो, काम केही नगर्यो होइन । नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकांक्षा र प्रवृत्तिअनुरूप चल्नेछ,’ उनले भने ।