राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १९औँ एसियाली खेलकुदकी रजत विजेता कराँतेकी एरिका गुरुङ र टेबुलटेनिसका स्यान्टु श्रेष्ठलाई सम्मानित गरेको छ । राखेपले थप पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार एक कार्यक्रमबिच सम्मान गरेको हो । ६१औँ वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुले वर्ष उत्कृष्ट खेलाडी हुँदै एक लाख पुरस्कार पाएका छन् ।
जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथलेटिक्सकी देवकीकुमारी धामीले सम्मानसहित ५० हजार रुपैयाँ पाएका छन् । पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदमा कांस्य पदक विजेता पलेसा गोवद्र्धनले प्राप्त गरिन् । उनले ५० हजार रुपैयाँ पाइन् । राखेपले पलेसाका प्रशिक्षक कविराज नेगी लामा र आमा मनिता र बुबा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरेको थियो ।
अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदरपत्रसहित सम्मान गरिएको छ । प्रशिक्षक कुशल श्रेष्ठले राखेपको करार प्रशिक्षकतर्फपुरस्कृत हुँदै १० हजार रुपैयाँ पाएका छन् । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहालले पाएका छन् । राखेपले यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टलाई प्रदान गरेको छ । यसै विधाको प्रशासनतर्फहिराप्रसाद पौडेल सम्मानित भए ।
वार्षिकोत्सवमा राखेपले पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको छ । कार्यक्रममा सम्मानित भएकालाई राखेपका संरक्षक प्रधानमन्त्री केपी ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङलले सम्मान गरेका थिए ।