रसियन खेलाडी एलिसा गण्डकीमा आबद्ध

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

एभरेस्ट प्रिमियर महिला भलिबल लिगमा रसियन खेलाडी एलिसा टुवियक आबद्ध भएकी छिन् । लिगको फ्रेन्चाइज क्लब गण्डकी थन्डर्सले हिटर एलिसालाई अनुबन्ध गरेको जनाएको छ । गण्डकीका लागि उनी पहिलो विदेशी खेलाडीका रूपमा भित्रेकी हुन् । 

एलिसा रसिया र क्यानडाको घरेलु लिगमा चर्चित खेलाडीमा पर्छिन् । उनले क्यानडाको योर्क युनिभर्सिटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सिटी एथलेटिक्स प्रतियोगिता खेलेकी छिन् । उनले रसियामा आयोजना हुने भिस्चा लिग पनि खेलेकी छिन् । एलिसाले नेपालमा भलिबल खेल्न पाउँदा उत्साहित भएको बताएकी छिन् । उनले एभरेस्ट प्रिमियर भलिबल लिगमा खेल्न तयार रहेको बताइन् । पोखरा थन्डर्सका मालिक सौरभ केडियाले प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउँदा धेरै खुसी लागेको बताए ।

यस्तै, निर्देशक विकास खेतानले टिमले अन्य दुई खेलाडी पनि अनुबन्धनको तयारी गरेको र छिट्टै सार्वजनिक गरिने जनाए । नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य खेलाडी सरस्वती चौधरी मार्की रहेको गण्डकीले यसअघि आठ नेपाली खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

भारतका अनुश्री र सूर्या चितवनमा 
लिगमा चितवनले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले भारतकी केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो । अनुश्री भारतकी युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटर रूपमा अनुबन्ध गरेको हो । यसअघि पनि उनी एनभिएल क्लब च्याम्पियनसिप र एनभिएल लिगमा बुटबलको एभरेस्ट क्लबमा आबद्ध थिइन् । 

अनुश्रीले क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकी थिइन् । उनी नेपालको भलिबलसँग परिचित अनुहार हुन् । अनुश्रीलाई अनुबन्ध गर्दा चितवनको टोली बलियो भएको जनाएको छ । यसअघि चितवनले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडल ब्लकर सुर्या एसलाई अनुबन्ध गरेको थियो । यस टोलीको मार्की खेलाडीका रूपमा नेपाली टोलीकी कप्तान अरुणा शाही रहेकी छिन् । 

चितवनले भारतीय टोलीकी मिडल ब्लकर सूर्या एसलाई पनि भित्र्याएको छ । सूर्या नेपाली भलिबलका लागि परिचित अनुहार हुन् । उनी यसअघि नेपाली भलिबल लिगहरूमा आबद्ध भइसकेकी छिन् । पछिल्लोपटक उनले एभरेस्ट क्लब बुटबलबाट प्रतिस्पर्धा गरेकी थिइन् । ०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरको उपाधि जितेकी उनले ०८० मा भएको एनभिए लिगमा पनि उत्कृष्ट स्पाइकरको उपाधि हात पारेकी थिइन् ।

See More On

सुझावित समाचार