उपत्यकाका नदीकिनारको मापदण्डसम्बन्धी विवादमा अध्ययन समितिले बुझायो प्रतिवेदन

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका नदीकिनारको मापदण्ड सम्बन्धमा सर्वाेच्च अदालतको फैसलापछि देखिएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनाली नेतृत्वको कार्यदलले मंगलबार मुख्यसचिव एकनारायण अर्याललाई प्रतिवेदन बुझाएको हो । 

१७ भदौमा मुख्यसचिव अर्यालले उक्त कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदन सार्वजनिक गरिएको छैन । विभिन्न मन्त्रालय तथा उपत्यकाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू सदस्य रहेको कार्यदलको प्रतिवेदनमाथि अध्ययन भइरहेको र सोही आधारमा सरकार पुनरावलोकनका लागि सर्वाेच्च अदालत जाने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । 

सर्वाेच्चले उपत्यकाका बागमती र सहायक नदीको किनारामा दायाँबायाँ थप २० मिटर छाडेर मात्र संरचना निर्माण गर्न परमादेश दिएको थियो । उक्त आदेश कार्यान्वयन भए खोलाकिनारमा घरजग्गा भएका हजारौँ सर्वसाधारण प्रभावित हुने भएपछि संघर्षमा उत्रिएका छन् । प्रमुख दलहरूले पनि समस्या समाधानका लागि सर्वदलीय पहल गरिरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने सार्वजनिक रूपमा बोलिसकेका छन् । भ्याकेटका लागि प्रधानमन्त्री कार्यालयले गृहकार्यसमेत गरिरहेको स्रोतको भनाइ छ । 

३ पुस ०८० मा सर्वाेच्च अदालतले गरेको फैसलाको पूर्णपाठ एक महिनाअघि सार्वजनिक भएको थियो । उक्त फैसला कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । यद्यपि, उपत्यका मेयर फोरमले सर्वाेच्चको फैसला गलत रहेको भन्दै त्यसविरुद्ध पुनरावलोकन गर्न सरकारलाई आग्रह गरिसकेको छ । उपत्यकाका नदीकिनारमा अतिक्रमण बढेको भन्दै जोगाउन दायर रिटमा सर्वाेच्चले त्यस्तो फैसला गरेको हो ।

सुझावित समाचार